आदित्यको हत्यामा एन्फा दोषी रहेको भन्दै सर्लाहीमा प्रदर्शन

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१७ घर भई मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी अभ्यासरत १३ वर्षीय प्रशिक्षार्थी आदित्य बलम्पाकीको राज्यले हत्या गरेको भन्दै रानीगन्जमा पदर्शन भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गत १२ गते गएको पहिरोमा परी आदित्यसहित ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।
मकवानुपुरको सिस्नेरीमा मापदण्ड र पूर्वाधार नै नभएको ठाउँमा एन्फाले लगेर प्रशिक्षण दिलाएको र प्रशिक्षार्थीको कुनै रेकर्ड नराखेकोलगायत आरोप लगाउँदै लालबन्दी–१७ रानीगन्जका स्थानीय र आफन्तले प्रदर्शन गरेका हुन् ।

एन्फाको व्यवस्थापकीय पक्ष कमजोर रहेको, उपयुक्त स्थानमा प्रशिक्षार्थी खेलाडीलाई नराखेको, २५ जना राख्नुपर्ने ठाउँमा ४० जनाभन्दा बढी राखेका कारण यो दुर्घटना निम्तिएको सयौँको संख्यामा सहभागी प्रदर्शनकारीले आरोप लगाएका छन् ।

त्यस्तै निःशुल्क अभ्यास गराउन भनी प्रशिक्षार्थीलाई लगे पनि सुरुदेखि नै एन्फाका केही कर्मचारीले रकम असुलेको पनि प्रदर्शनमा सहभागीले आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागी स्थानीय विभुसिंह थापाले भने, ‘एन्फाले हाम्रो बच्चा लगेर मारेको हो । राम्रोसँग छानबिन गर्नुपर्यो ।’

गैरजिम्मेवारीपन र लापरबाहीले प्रशिक्षार्थी बालबालिकाको मृत्यु भएको भने पनि एन्फाले यो घटनालाई भवितव्य भनेर उम्किन खोजिरहेको थापाले आरोप लगाएका छन् । ‘हामीलाई यो सबै प्राकृतिक विपत्ले गर्दा भएको हो भनी सही गर्न लगाएका छन्, तर हामी यसमा सही गर्दैनौँ, यो एन्फाले गरेको हत्या हो’, थापाले भने । आफूहरूले आदित्यको शव मागेर दाहसंस्कार गर्छौं भन्दा पनि नपाइएको उनले गुनासो गरे ।

आदित्यको शव काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आफन्तहरूले शव बुझ्न मानेका छैनन् । उनीहरूले एन्फाकै व्यवस्थापकीय कमजोरीका कारण आफ्नो बच्चाको मृत्यु भएको र पहिरोले भन्दा पनि दुर्घटना भएकाले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

अविरल वर्षासँगै आएको पहिरो र कुलेखानीको ड्याम खोलिएपछि एन्फाको सिस्नेरी एकेडेमीमा रहेका ६ जना किशोरको पहिरोमा परी मृत्यु भएको थियो । बाँकीलाई घाइतेलगायतलाई भने हेलिकोप्टमार्फत काठमाडौँ लगिएको थियो । यो घटनामा एन्फाको गम्भीर लापरबाही र एन्फा व्यवस्थापकको गैरजिम्मेवारीपन देखिएको भन्दै अहिले आलोचना भइरहेको छ ।

उक्त पहिरोमा परी आदित्यसँगै हेटौँडाका अनुप घलान, मकवानपुरका साइमन योञ्जन, काठमाडौँका रियान्स आचार्य, बाराका विकल रेग्मी र मकवानपुरकै दिवस बानियाँको निधन भएको थियो ।

प्रतिक्रिया