भरिन लाग्यो कुलेखानी, तटीय क्षेत्रमा ‘हाई अलर्ट’मा रहन अनुरोध

हेटौँडा । बिहीबारदेखिको लगातारको वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत आयोजनाको इन्द्रसरोवर ड्याम भरिन लागेको छ । शुक्रबार दिउँसो दुई घन्टाको बिचमै पानीको सतह ६२ सेन्टिमिटरसम्म बढेपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्र लेख्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

इन्द्रसरोवर बाँध कुनैपनि बेला भरिन सक्ने अवस्थामा पुगेको र ड्यामका ढोकाहरु खोल्नुपर्ने अवस्था रहेकाले त्यसबाट प्रभावित हुनसक्ने क्षेत्रका स्थानीयहरुलाई समयमै सुरक्षित स्थानमा रहन आयोजनाले अनुरोध गरेको छ ।

आयोजनाको सो जानकारीसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रतिकार्यमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई ‘हाइ अलर्ट’मा रहन सुचित गरेको छ । यस्तै मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई समेत सुरक्षित स्थानको पूर्वतयारीको लागि प्रशासनले अनुरोध गरेको छ ।

कुलेखानी बाँधका ढोका खोलिँदा बाँधदेखि तल्लो तटीय क्षेत्र सिस्नेरी हुँदै बागमती नदी किनारका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यसबाट मकवानपुरको इन्द्रसरोवर, भीमफेदी, बकैयाका साथै ललितपुरको बागमती गाउँपालिकामा प्रभाव पर्नेछ ।

शुक्रबार साँझ ५ बजेसम्ममा इन्द्रसरोवर पूर्णरुपमा भरिन करिब ३ मिटर बाँकी रहेको छ । १ हजार ५२९.९० मिटरको तहसम्म पानी भण्डार हुने बाँधमा ५ बजेसम्ममा पानीको सतहले १ हजार ५२६.७० मिटरको तह पार गरिसकेको आयोजनाका इलेक्ट्रिकल सुपरभाइजर सुमन अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार दिउँसो ३ बजेदेखि प्रत्येक घन्टा पानीको सतह ३१ सेन्टिमिटरका दरले बढिरहेको छ । सामान्य अवस्थामा प्रतिघन्टा २ सेन्टिमिटरका दरले ड्याममा पानीको सतह बढ्ने गरेको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया