जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आमजनताको स्वास्थ्य सेवासँग खेलवाड गर्नेमाथि प्रदेश सरकारले निर्ममताका साथ कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा स्वास्थ्य क्षेत्रमा कामगर्ने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय स्तरको संघसंस्थाहरूको जनकपुरधाममा सम्पन्न भएको समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन् । उनले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारमाथि कहीकतैबाट कुण्ठित गरेको खण्डमा ती संस्थाका जिम्मेवार व्यक्तिलाई तत्काल कारबाही गर्ने पक्षमा आफू भएको बताए ।
मुख्यमन्त्री सिंहले विपन्न जनताको स्वास्थ्यमा पहुँच नभएसम्म मधेसको स्वास्थ्यको सुधार भएको भन्न नसकिने बताउँदै मधेस प्रदेशको १ हजार २७१ वटामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट चाहिने हरेक प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउँदै यसमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई सहयोग गर्नका लागि आग्रह गरे ।
उनले आफूले अनुगमन गरेको कुनै पनि सरकारी कार्यालयमा दोस्रोपटक अनुगमन गर्न पुगेको खण्डमा तोकिएको काम इमानदारीपूर्वक सम्पन्न नभएको पाइएमा त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ कारबाही हुने भएकाले जिम्मेवारीका साथ काम गर्नका लागि निर्देशन दिए । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले स्वास्थ्यको क्षेत्रका कतिपय विषयमा संघ, प्रदेश तथा स्थानीय सरकारका बीचमा समन्वयको अभाव भएका कारणले अहिले पनि गरिब तथा विपन्न वर्गमा कतिपय स्वास्थ्य सेवाहरू दिन नसकिएको कारणले मधेस प्रदेश धेरै विषयमा पछाडि परेको बताए ।
उनले मधेस प्रदेशको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर काम नगरेसम्म सम्भव नभएको बताउँदै समन्वयका लागि प्रदेश सरकार सधैँ तयार भएको बताए । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले अहिले स्वास्थ्य साक्षरताको अवस्था कमजोर भएको कारणले स्वास्थ्यका कतिपय सूचकमा मधेस प्रदेश पछाडि रहेको बताउँदै स्वास्थ्य साक्षरतामा जोड दिन जरुरी रहेको बताए ।
कार्यक्रमका अध्यक्ष रहेका मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.संजयकुमार ठाकुरले ५२ प्रतिशत मधेसका जनता अहिले पनि स्वास्थ्य सेवा पाउनका लागि रकम तिर्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य क्षेत्रमा अझै सुधारको धेरै खाँचो भएको औँल्याए ।
कार्यक्रममा युनिसेफका नेपाल प्रमुख नविन पौडेल, मधेस प्रदेशका निमित्त प्रमुख सचिव राजन नेपाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रमेशकुमार यादव, युएसएआइडीका विजयकुमार झा र बरिष्ठ जनस्वास्थ्य प्रशासक नीलाम्बर अधिकारीले मधेस प्रदेशको समग्र स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिएका थिए ।
प्रतिक्रिया