कुनै पनि देशको उन्नति प्रगतिमा राजनीतिको ठूलै भूमिका हुन्छ । तर युवापिढीको मुखबाट प्रायः सुन्नमा आउने शब्द politics is dirty game हो । राजनीतिको विषयमा युवाको यस्तो नकारात्मक विचार हुनु हाम्रो देशको दुर्भाग्य हो ।
हामीलाई यो बुझ्नुपर्छ कि राजनीति कुनै पनि देशको अभिन्न अंग हो । राजनीतिबिना देशको परिकल्पना पनि गर्न सकिँदैन । राजनीतिको सुरुआत रामायणकालभन्दा पनि प्राचीन छ । राजनीति अर्थात राज+नीति राजको अर्थ शासन र नीतिको अर्थ उचित समय र उचित स्थानमा उचित कार्य गर्ने कलालाई बुझिन्छ ।
हरेक कुरामा राजनीति हुन्छ । चाहे व्यापारीको होस्, नेताको वा पत्रकारको । सबैको चुनाव हुन्छ । र, सबैको नेता हुन्छ । व्यापारीका नेता, पत्रकारका नेता, जनताका नेता । जसले चुनाव जित्छ ऊ हाम्रो लिडर अर्थात नेता बन्छ । जनकपुरधाममा अहिले व्यापारीको चुनावको माहौल छ । जताततै भोट माग्ने, ब्यानर पोस्टर लगाउने । सबै उम्मेद्वारहरू जित्नलाई खुब तछार मछार गरिरहेका छन् । मिडिया होडबाजी, पब्लिसिटी कमाउन समय पैसा र शब्द खर्च गर्नमा ब्यस्त छ्न । अहिले सबै क्यामेरा अगाडि म व्यापारीका लागि गर्छु, म उहाँहरूको पीडा बुझ्छु भन्नेहरू धेरै जन्मेका छन् । तर के साँच्चै बुझेका छन् त उनीहरूले व्यापारीका पीडा ? चुनाव नजकिँदै जाँदा सबैले आफूलाई समाजसेवी, जनताको सेवक, जनताप्रेमी, देशभक्त बनाउनलाई देखावटी काम र नौटंकीहरू गर्न थालेका छन् । तर अरू समयमा कानमा तेल राखेर सुतेका हुन्छन् वा लुटनमा व्यस्त । थाहै भएको कुरा हो ।
जनकपुरधाम धार्मिक नगरी भएकोले यहाँ जानकी मन्दिरको पूजा, दर्शन गर्न नेपालका साथै भारतकोे श्रद्धालु भक्तजन र पर्यटकहरू आउँछन् । झन विवाहपञ्चमी, राम नवमी, छठमा त इन्डोनेसिया, जापान, चीन लगायतका मुलुकबाट पनि पर्यटकहरू जनकपुरधाम आउँछन् । उनीहरूले यहाँको संस्कृति, पहिरन, मिथिलाको व्यञ्जन मन पराउँछन् । पहिला त यहाँ भारतीय गाडीको चाप बढी देखिन्थ्यो । जसले गर्दा होटल व्यापारीदेखि बाटोमा भएका ठेला, रिक्साबालाहरूको पनि राम्रै कमाइ हुन्थ्यो ।
तर, अहिले अवस्था दिनानुदिन जीर्ण बन्दै गएको देखिन्छ । दिनानुदिन व्यापार र व्यापारी मर्कामा पर्दै गएका छन् । यसको कारण र कमजोरी स्थानीय निकाय, सरकार, व्यापार संघले गर्दा पनि हो । नेपालभन्दा भारतमा सरसामानको मूल्य सस्तो छ । यहाँ आम्दानी छैन, रोजगारी छैन । तर, महँगी चरम सीमामा छ । तैपनि कसैलाइ कुनै चासो छैन । यहाँका व्यापारीको व्यापार चौपट छ । पहिला त ब्याक एरियामा सटर भेटिदैनथ्यो । अहिले त चोकमा पनि खाली छन् । व्यापार र व्यापारीको अवस्था कसरी सुधार हुन्छ ? कसरी जनकपुरधामको व्यापार राम्रो हुन्छ ? ब्यापारीका नेतालाई यसको जिम्मेवारी लिनुपर्ने हो तर कसलाई कति वास्ता त्यो त सर्वविदितै छ ।
अहिले ब्यापार संघको चुनाव चल्दै छ । सामाजिक सञ्जालमा खुब बनावटी, वाहवाही र देखाबामा लागेका छन् सबै । जसले घर समाजको भलो गर्न सक्दैन, उनीहरूले व्यापार व्यापारीको विकास गर्छन् अरे ! र, पत्रकारहरूको पनि अहिले कमाउने सिजन छ । केही पत्रकारको दिन रात ब्यापार संघ वा चुनाव लडिरहेका व्यक्तित्वहरू सँगै बित्छ । भ्याइनभ्याई अवस्था छ ।
अहिले अर्को न्यूज पनि छैन । न काम । क्यामेरा माइक र व्यापार संघ चुनाव तथा प्रशंसा । त्यति नै काम । सबै पैसाको खेल छ । व्यापारीलाई नेताको आवश्यकता किन ? जहाँ हामी सामूहिक रूपमा पुग्न चाहन्छौँ, टोल समाजमा विकास गर्न चाहन्छाँै वा व्यापार व्यापारीको समस्यालाई सम्बोधन निराकरण गर्न चाहन्छौँ । तर कसरी गर्ने, त्यहाँसम्म कसरी जाने हामीलाई थाहा हुँदैन । त्यहीँ भएर हामी नेता रोज्छौँ । जसले हाम्रो नेतृत्व गरोस् ।
कुनै पनि राजनीतिमा सफा, स्वच्छ र नेता इमानदार, निष्ठावान भइदिए देशको उन्नति प्रगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । तर नेता भ्रष्ट, बेइमान भयो भने बर्बाद हुन समय लाग्दैन । जसरी राजनीतिबिना देश चल्दैन त्यस्तै ब्यापारीको चुनावमा बिनाव्यापारीको साथ सहयोगले कोही नेता बन्न सक्दैन । कुल मिलाएर भन्नुपर्यो भने व्यापारी समझदार भयो भने राम्रो नेताको चयन हुन्छ । र, इमानदार नेता भइदियो भने व्यापार व्यापारीको हित र विकास हुन्छ ।
चुनाव नजिक भएपछि जनताको बीचमा जानु, वृद्धा आश्रम पुग्नु, हरेक गोष्ठीहरूमा सम्मिलित हुनु, मिठो बोल्नु, चिया खुवाउनु र जितेर गएपछि औकात देखाउनेजस्ता बहुरुपियाहरूलाई चिन्नु आवश्यक छ । आज ५ लाख खर्च गर्छ भने भोलिको दिनमा करोडौँ खान्छ । नभए टिकटका लागि यति होडबाजी नै हुने थिएन ।
यहाँ मापदण्ड छैन । कुन चोक, बाटोमा भएको सटरको भाडा कति हुनुपर्यो । यहाँ छाडातन्त्र छ । जुनबेला जति मन लाग्छ दाम बढाउँछ । न त व्यापार संघ न त उपमहानगरपालिकालाई कुनै वास्ता छ । जनकपुरधाममा जानकी मन्दिरबाहेक अरू छ के ? जानकी मन्दिर छ त्यही भएर पर्यटक आउँछन् नभए किन आउँथे ? यसमा पनि सबै सम्बन्धित निकायको ध्यान हुनु आवश्यक छ । झन् हाम्रो हितका लागि हामीले जिताएर पठाएको नेताहरूको त झन् जिम्मेवारी हो कसरी व्यापारी व्यापार राम्रो होस् तर भन्नलाई नेता कामचाहिँ सम्मान ग्रहण र नामका लागि ।
व्यापारिका यस्ता गुनासा छन्
लामो समयदेखि व्यापार गर्दै आएका व्यापारी निखिल भन्छन्, ‘हामी व्यापारीलाई सबैभन्दा बढी सटर भाडाले मर्कामा पारेको छ । सटरको भाडादर निर्धारण नहुनु दुःखद् हो । यहाँ सटरको भाडा त बढी छ नै तर रेटको कुनै मापदण्ड निर्धारण छैन । र, त्यो भन्दा पनि जटिल समस्या छ कि एग्रिमेन्ट हुँदैन । त्यसमाथी व्यापार संघ कसैलाई कुनै चासो छैन । जबकि जनकपुरधाममा धेरै कम भए पनि २ हजारभन्दा माथि नै सटरहरू होलान् । सबैले सरकारलाई कर पनि बुझाउँछन् तर व्यापारको अवस्था शून्य छ ।’
‘व्यापार व्यवसायमा मुख्य भूमिका भनेको पर्यटकको हुन्छ । पर्यटकले गर्दा नै बजार चल्छ । व्यापार संघको ध्यान नजानु दुःखद् र खेदजनक रहेको गुनासो पोखेका छन् । व्यापार संघको काम नै व्यापारीको हितको लागि हो, उनले भने, ‘तर, न व्यापार संघ न त्यसका कार्यसमिति कसैलाई कुनै चासो छैन । यस्तै अवस्था रह्यो भने व्यापार र व्यापारी दुवै मर्छन् । त्यसैले अबको नेता राम्रो चयन होस् । हामीलाई मुखौटेहरूको आवश्यकता छैन । न त फेमस फेसको । ठुलो ठुलो भाषण दिने नेता होइन बरु काम गर्ने इमानदार नेता खाँचो छ ।’
अहिले सामाजिक सञ्जालले त जो कोहीलाई पनि फेमस गरिदिन्छ । काम के गर्यो थाहा छैन । तस्बिर, स्टाटस जथाभावी र कार्यकर्ता त अहिले सबैसँग छ । त्यसैले सावधान र सतर्क हुनुस् ।
प्रतिक्रिया