महिलालाई देवी भन्नुभन्दा मानवसरह व्यवहार गर्नुस्

आखिर के भएको छ हाम्रो समाजलाई ? हामी कता गइरहेका छौँ ? हामी मानवरूपी दानव भएका त छैनौँ ? सानो बच्चा हेर्ने बित्तिकै माया लाग्ने यो मनमा सिकारीको भावना कसरी ? हामी यो किन बिर्सिन्छौँ कि त्यो बलात्कारी पुरुष आखिर जो भए पनि एउटा लोग्ने मान्छे हो, जस्तै बलात्कृत हुने एउटी महिला । आज हामी कसैको छोरी, बुहारी, आमा, बहिनीलाई बलात्कार गर्छौं तर त्यही घटना आफ्नो परिवारमा भइदिए के गर्छौं ? हरेक मान्छेको दुःख, भोक र पीडा एकैनाशको हुन्छ ।

ज्योति झा

‘बलात्कार’शब्द सुन्दा महिला अथवा बालिकामाथि हुने कुकृत्य भन्ने बुझिन्छ । यो घटनाले पीडितको जीवनरेखा नै बंग्याइदिन्छ । समाजमा बलात्कार शरीरसँग हुने कुकर्म वा जबर्जस्ती बुझिन्छ । तर वास्तवमा बलात्कार शरीरसँग मात्र नभई आँखा र शब्दले पनि हुन्छ । आजकाल ज्वालामुखीभन्दा पनि तीव्र गतिमा समाजमा बलात्कारका घटनाले तीव्रता पाएका छन् ।

आखिर यस्ता कुकृत्य हुनुको कारण के हो त ?

समाजमा खास गरेर वर्तमान परिवेशमा मान्छेको सोच हुन्छ कि छोटो पहिरन लगाउनु, बढी घुमफिर गर्नु, कसैको नजरमा पर्नु र कसैसँग निर्धक्क भएर कुरा गर्नाले बलात्कारलाई बढावा दिन्छ । तर मेरो बुझाइले यो बलात्कारको कारण कदापि हुन सक्दैन । किनभने यस्तो हुन्थ्यो भने ३ महिनादेखि ७ वर्ष सम्मकी बालिकाको बलात्कार किन ? एउटी वृद्धाको बलात्कार किन ? के उहाँको पहिरनले गर्दा यस्तो हुने हो वा उहाँको निर्धक्क बोलीले ? सायद यो हामीभित्रको संर्कीण मानसिकता हो । जसले महिलामाथि नै दोष देखाउन खोज्छ । पहिरनले यदि बलात्कार हुन्थ्यो भने सायद सबैभन्दा बढी बलात्कारका घटना अमेरिका अथवा बेलायतजस्ता विदेशी भूमिमा हुन्थ्यो न कि नेपाल वा भारतमा ।
हुन त अहिले ७० प्रतिशत कलिलो उमेरकी बालिका (जसलाई हामी अबोध पनि भन्न सक्छौँ) बलात्कृत भइरहेकी छन् ।

यसका केही उदाहरणहरू पनि छन्

–निर्मम तरिकाले हत्या भएको निर्मला पन्त २०७५ साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको शव उखुबारीमा फेला पर्यो । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

–मोरङको जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परिन् । पिसाब फेर्न बाहिर निस्किएकी उनको गाउँलेले खोजी गर्ने क्रममा पत्ता लाग्यो, उनी सामूहिक बलात्कारको सिकार भएकी रहिछन् ।

–सप्तरीको कञ्चनरूप नगरपालिकामा १ जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । ४ जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर बलात्कार गरेका थिए ।

– धनुषाको महेन्द्रनगरकी एक १४ वर्षीया नाबालिका पनि बलात्कारप्को सिकार भएकी थिइन् ।

झन् अहिले देशभरी नै चर्चाको विषय बनेको कोलकातामा बलात्कारपछि हत्या गरिएकी डा.मौमिता घटना आगोजस्तै फैलिरहेको छ ।

हाम्रो सामाजमा ३ वर्षका बालिका पनि सुरक्षित छैनन् किन होला ?

र यस्ता कति घटना होला जुन लुकेर बसेको हुन्छ । बलात्कारका घटनापछि समाजमै र स्थानीय प्रहरीको रोहबरबाट समेत पीडित र पीडकबीच मिलापत्र गराउने प्रवृत्तिले प्रश्रय पाएको छ । जसका कारण प्रत्यक्ष÷परोक्ष रूपमा यस्तो जघन्य अपराध गर्ने व्यक्तिको मनोबल बलियो बनेको छ । र पीडित चुप लागेर घटना लुकाउँछ ।

मुलुकमा जुनसुकै तन्त्र (प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र) आए पनि महिलाहरू निर्धक्क घरबाहिर चहलपहल गर्न सक्ने वातावरण अझै बनिसकेको छैन । राज्यले पनि यस्ता घटना नियन्त्रणमा त्यति जोड दिएको पाइँदैन, जसको उदाहरण बलात्कार र हत्या भएको वर्षाैंसम्म पनि दोषी पत्ता नलाग्नु नै हो ।

पुरुष रक्सी खाएर मातिँदा ताली, महिलाले तिजको दरमा नाच्दा गाली …

आखिर के भएको छ हाम्रो समाजलाई ? हामी कता गइरहेका छौँ ? हामी मानवरूपी दानव भएका त छैनौँ ? सानो बच्चा हेर्ने बित्तिकै माया लाग्ने यो मनमा सिकारीको भावना कसरी ? हामी यो किन बिर्सिन्छौँ कि त्यो बलात्कारी पुरुष आखिर जो भए पनि एउटा लोग्ने मान्छे हो, जस्तै बलात्कृत हुने एउटी महिला । आज हामी कसैको छोरी, बुहारी, आमा, बहिनीलाई बलात्कार गर्छौं तर त्यही घटना आफ्नो परिवारमा भइदिए के गर्छौं ? हरेक मान्छेको दुःख, भोक र पीडा एकैनाशको हुन्छ ।

बलात्कारजस्ता जघन्य अपराधलाई रोक्न घरदेखि नै सुरुआत गर्नुपर्ने देखिन्छ । घरमा आमाबुवाले छोराछोरीसँग समान व्यवहार, खानपिन, वार्तालाप गर्नुपर्ने आवश्यक छ । संस्कार छोरीका लागि मात्र नभई छोराका लागि पनि मर्यादा छ भने सिकाउनुपर्यो । छोरीहरूलाई सानैदेखि उसको मनमा ऊ कमजोर छ, ऊ कसैमाथि निर्भर छ, ऊ अर्काको घरकी हुन् भनेर नसिकाई उसमा आत्मबल, दुनियासँग लड्न सक्ने क्षमता, अत्याचारविरुद्ध आवाज उठाउन सक्ने क्षमतामा विकास गर्न मद्दत गर्नुपर्ने देखिन्छ । र, त्यति मात्र होइन, समाजले पनि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ ।

छोरी भनेको मात्र मर्यादाको पुत्ला होइन र छोरा भनेको साँढे होइन । जसलाई छुटै छुट छ । विद्यालयमा पनि सेक्स के हो, यसको शिक्षा दिनु जरुरी छ । र, यस विषयमा खुलेर कुरा गर्नु आवश्यक छ । जब हामी कुनै नयाँ चिज हेर्छौं भने मनमा उत्सुकता हुन्छ । त्यस्तै हो सेक्स पनि । कम उमेरका बालकले पोर्न भिडियो हेरेर मानसिकरूपमा आफूभित्र त्यस्ता काम गर्ने कुतूहलता जगाउँछ । बलात्कार रोक्न नशालु पदार्थ (ड्रग्स, रक्सी, चरेश, छाडा र पोर्न भिडियो, अश्लील गीत) बन्देज लगाउनु आवश्यक छ । जसरी सुतेका मान्छे मृतसमान हुन्छ, त्यस्तै नशामा बेहोस भएका मानिस पनि मृतसमान नै हुन्छ । महिलालाई आत्मरक्षाको ट्रेनिङ लिनु पनि आवश्यक देखिन्छ । जसले गर्दा उनले आफ्नो रक्षा आफैँ गर्न सकुन् । सही उमेरमा विवाह गर्नु पनि त्यति नै आवश्यक छ ।

कानुन मजबुत हुनु महत्वपूर्ण पक्ष

बलात्कारजस्ता जघन्य अपराध रोक्न हाम्रो कानुन मजबुत हुनुपर्ने नितान्त आवश्यक छ । मान्छेमा जब कुनै कुराको डर हुन्छ तब उसले कुनै अपराध गर्नुभन्दा अगाडि डराउँछ । बलात्कारीलाई २–४ वर्षको कैद सजाय वा धरौटी तिराएर छुट होइन बरु आजीवन काराबास वा नपुंसक बनाइनुपर्ने कानुनको निर्माण गर्नु नितान्त आवश्यक देखिन्छ । जसले गर्दा बलात्कारीले बलात्कार गर्नुभन्दा अगाडि सयौँपटक सोचून् । यस्ता कानुनको निर्माण गरिए यो घृणित काम बन्द हुन्छ कि ?

हामीलाई बुझ्नु जरुरी छ कि महिला नै कुनै रूपमा जननी हुन्, जसले हामीलाई जन्म दिएकी हुन् भने कुनै रूपमा बहिनी जसले राखी बाँधेर हाम्रो रक्षाको कामना गर्छिन् । महिला कहीँ कुनै रूपमा छोरी पनि हुन्, जसको कारणले घरमा रौनकता छाएको हुन्छ भने कुनै रूपमा पत्नी जसले जीवनको हरेक मोडमा सही गलतको बाटो देखाउँछ ।

तपाईं महिलालाई देवी भनेर नपुज्नुस् कम्तीमा ऊ पनि एउटा मानिस नै हो भनेर मात्र बुझिदिनुस् र यसको सुरुआत आफैँदेखि गरेर हेर्नुस् ।

प्रतिक्रिया