पर्वतको अर्मादीमा बस र एम्बुलेन्स ठोक्किँदा तीन महिला घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ४ घुम्तिस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुबाहक बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते भएका छन् ।

बुधबार दिउँसो नारायणगढवाट बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका– १ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गिता कुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुई जनाको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्वतको जलजला गाउँपालिका– ७ की ५५ वषीया महिला बिरामी भई पोखरा लैजाने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए ।

दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भुसालले जानकारी दिए ।

प्रतिक्रिया