रौतहट । प्रभु साहको नेतृत्वमा गठित आम जनता पार्टी (आजपा) पछिल्लो चरणमा आक्रामक तरिकाले संगठन बिस्तार तथा सुदृढीकरणमा लागेको देखिएको छ । पार्टीको सुदृढीकरणका साथै विभिन्न जनवर्गीय संगठनको भेला तथा नेतृत्व चयन गर्दै आजपाले आक्रामक नीति लिएको देखिएको छ ।
पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रमा लामो समय सक्रिय राजनीति गरेका संघीय सांसद साहले गतनिर्वाचनमा अन्तिम दिन नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्रको हैसियतले प्रतिनिधिसभाको उम्मेद्वार भई विजयी बनेका थिए । साहकै समर्थनमा किरण साह पनि सांसद बने । प्रदेश सभामा पनि साहले १ जनालाई जिताउन सफल भए तर दुवै जनाले कालान्तरमा प्रभु साहलाई छाड्दै नेकपा एमालेमै फर्किए ।
आजपा गठन गर्दा ताकाका केही चर्चित अनुहारले पनि प्रभु साहलाई छाडिसकेका छन् । तर, विभिन्न पार्टीसित एकता गर्दै, समयसमयका विभिन्न चर्चित नेता तथा वरिष्ठ व्यक्तित्वलाई पार्टीमा भित्र्याउँदै साहले पार्टीलाई बलियो बनाउँदै लगेका छन् । मधेस प्रदेशमा बिस्तारै बलियो संगठन बनाउँदै लगेको आजपाले केन्द्रमा पनि कबाडी व्यवसायीको पक्षमा प्रदर्शन र आन्दोलन, भन्सारको केही नियमलाई परिवर्तन गर्नका लागि आन्दोलन गरिसकेको छ । विगतमा आजपाले किसानको पक्षमा आन्दोलन गरेको थियो भने मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।
प्रतिनिधिसभामा पनि आक्रामक भाषण गर्ने सांसद साहले पछिल्लो समयमा आक्रमक तरिकाले जनवर्गीय संगठनको बिस्तार तथा सुदृढीकरण गरेका छन् । आजपाको महिला संगठनलाई बलियो बनाउन कुमारी बबिताको अध्यक्षतामा ७५ सदस्यीय आम महिला मोर्चाको गठन गरिएको छ । महिला मोर्चाले राज्यको हरेक निकायमा अनिवार्य ५१ प्रतिशत महिलाको उपस्थिति हुनुपर्ने माग गरेको छ ।
यसै गरी अनिल झाको अध्यक्षतामा आम किसान मोर्चाको पुनर्गठन गरेको छ आजपाले । मोर्चामा ३५ जना रहेका छन् । किसान पेन्सनको व्यवस्था हुनुपर्ने माग मोर्चाको रहेको छ । नेपालको वर्तमान संविधान जारी हुँदाको बखत संविधानसभा सदस्यसमेत रहेका पूर्वमन्त्री साहले संविधान घोषणा हुँदा असहमति जनाउँदै हस्ताक्षर गरेका थिएनन् । साह नेतृत्वको आजपाले असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा सातै प्रदेशमा निकाल्ने घोषणा गरिसकेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया