मिथिला नगरी जनकपुरधाम हनुमानगढीमा अवस्थित श्री हनुमानजीको मन्दिरलाई प्राचीन ऐतिहासिक, पुरातात्विक महत्व ओगटेको मन्दिर मानिने गरिएको छ । मिथिला भूमि जनकपुर धाममा रामजानकीजीको दर्शन गर्नुभन्दा पूर्व भक्तजनहरू यहाँको हनुमानजीलाई दर्शन गर्ने गर्दछन् । भगवान् श्रीरामका प्रिय भक्तको हनुमानगढीमा दर्शन गरेर भगवान् श्रीरामजानकीजीको पूजा आराधना गर्दा राम प्रिया जानकीजी यथाशीघ्र प्रशन्न भएर भक्तजनलाई मनोकांक्षित फल प्रदान गर्दछिन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।
श्रीराम आफ्नी प्राण प्रिया सीताको प्रकाट्य बैकुण्ठ धामरुपि मिथिला भूमिमा सदाजसो रहिरहने भएकाले हनुमानजी पनि यहाँको हनुमानगढीमा सदा विराजमान रहने गर्दछन् । मिथिलापुरिका भक्तजनमा सदा कृपा वर्षा गरिरहने यिनी थोरै भक्ति भावले प्रसन्न हुने गर्दछन् । झन् विधिपूर्वक, व्रत, उपासना गर्दा तथा हनुमान आराधना गरे गराएमा त भक्तजनको सारा संकट तट क्षणमा नै हर्दछन् भन्ने धार्मिक मान्यता रहेको छ ।
जनश्रुतिका अनुसार माता सीता आफ्ना इस्टदेवी श्रीगिरिजाको दर्शन गर्न दिनहुुँ गिरिजा स्थान जाने गरेको हुँदा उनको दर्शन गर्न र उनले हिँड्ने गरेको मार्गको रक्षाका लागि गिरिजा पथको पश्चिम छेउमा दक्षिणतर्फ फर्केर सदा विराजमान रहने गर्दछन् भनेर हनुमान नगरका बुढापाकाहरू सुनाउने गर्दछन् ।
प्राचीन मिथिलाको राजधानी रहेको मिथिलापुरी नेपालको मधेस प्रदेश राज्यको राजधानी बन्न पुगेको जनकपुर धाममा १८औँ शताब्दीमा पुनः प्रतिष्ठापित भएको यो एक प्रसिद्ध मन्दिर हो । व्यापक रूपमा अतिक्रमणको सिकारमा धराशायी हुँदै गइरहेको जनकपुर धाममा अवस्थित यो मन्दिर बढो कठिनाइका साथ हालसम्म आफ्नो अस्तित्व जोगाउँदै बाँच्न सफल रहेको छ । जनकपुर धामका महत्वपूर्ण प्रख्यात प्राचीन मठ मन्दिरहरूमा यो मन्दिर पनि पर्दछ ।
जनकपुरधामलाई जनकको राजधानी, मिथिलाको राजधानी, मिथिला नगरी, सीता नगरी, मिथिला पुरी, बैकुण्ठ धाम, शक्ति पीठ, तान्त्रिक साधना स्थल, तपोभूमिलगायत अन्य कतिपय नामले सम्बोधन गर्ने गरिन्छ । हुन त केही समय पूर्वसम्म तलाउ नै तलाउको सहर, मठै–मठ, मन्दिरै मन्दिरको सहरको नामबाट पनि सम्बोधन हुन थालेको थियो । खैर जे जसो नामले सम्बोधन भएता पनि यस पवित्र रमणीय, मनमोहक, आनन्ददायक पवित्र स्वच्छ भूमिमा सदाजसो रमाइरहने भगवान् श्रीरामसीताजीका प्रिय भक्त हनुमानजी पनि भगवान्का सेवामा तथा बैकुण्ठ धामको पार्यायवाची मिथिलापुरीको यस हनुमानगढीमा सदा विराजमान रहने गर्दछन् । यिनको पनि प्रिय स्थान मिथिलापुरी नै बन्न पुगेको कथाहरू गाउँलेहरूबाट सुन्न पाइन्छ ।
अयोध्यामा हनुमानगढी रहे झैँ मिथिलामा पनि यो हनुमान गढी रहेको छ । श्री हनुमानगढी जानकी मन्दिरबाट लगभग ३–४ किलोमिटर दक्षिणतर्फ गिरिजा मार्गको पश्चिमतर्फ अवस्थित रहेको छ । जनकपुरधाम उपमहानगर–१२ हनुमाननगर गाउँमा श्री हनुमानगढीमा अवस्थित हनुमानजीको मन्दिर पौराणिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्व ओगटेको सनातन धर्मावलम्बीहरूको धार्मिक आस्था र विस्वासको पवित्र तीर्थस्थल हो । यो मन्दिरको पुनः प्रतिष्ठापित सिद्ध महात्मा प्रितम दासले गरेका हुन् । यस मन्दिरका सन्दर्भमा विभिन्न रोचक कथाहरू सुन्न पाइन्छ ।
परापूर्वकालमा यो क्षेत्र वनजंगलले ढाकिएको थियो । हिंस्रक पशुहरूको वासस्थल थियो । उक्त समय रामानन्दी समुदायका सिद्ध महात्मा प्रितम दास गोरखपुर मुरिया रामपुर मठमा भगवान्मा ध्यान तथा पूजापाठमा लिन रहने गर्थे । एकदिन उनी आफ्नो मुरियाका रामपुर मठबाट तीर्थाटनका लागि प्रस्थान गरे । तीर्थाटनका क्रममा गंगाजीमा स्नान गर्दा उनले गंगानदीमै हनुमानजीलाई स्पर्श गर्न पुगे । उनले सो समयमा त्यति ध्यान दिएनन् । स्नान गरेर गंगाजीकै तटमा धुनी जगाएर बसेका यिनी पूजापाठ ध्यानमा लिन रहेका बेला हनुमानजीले उनलाई दर्शन दिएर भने तिमीले जहाँ स्नान गरेका थियौँ त्यसै स्थानमा मेरो स्वरूप छ । मलाई गंगाजीबाट उठाएर मिथिलापुरिमा लगेर प्रतिस्थापित गर । नभन्दै उनले स्नान गरेका ठाममा गएर डुबुल्की लगाएर हेर्दा विशाल आदम कदको मूर्ति फेला पारे । निकालेर हेर्दा हनुमानजीको नै स्वरूप रहेछ । उक्त हनुमानजीलाई साथै लिएर तीर्थाटन गर्दै मिथिलानगरी जनकपुरधाम प्रस्थान गरे । आउँदाआउँदै हनुमानगढीमा पुग्दा रात छिप्पिसकेको थियो । उनी अति नै थकित अवस्थामा पुगे । उनले आफूलाई थाकेर अत्यन्तै गलेको महसुस गरे । अगाडि हिँड्ने आँट गर्न सकेनन् । कहिल्यै यस्तो महसुस नभएका महात्मा आश्चर्यचकित हुन पुगे । भगवान्को कृपा ! भन्दै हनुमानगढीमा विश्राम लिन पुगे । आँखा झमक्क के पारेका थिए । पुनः उनलाई साक्षात हनुमानजीले दर्शन दिए अनि भने मलाई यसै स्थानमा प्रतिस्थापित गरेर पूजापाठ गर । ध्यान गर । चारै लोकका पूजनीय वन्दनीय मुक्तिदायिनी पवित्र तीर्थस्थलमा छौँ । तिमी यस भूलोकमा रहुन्जेलसम्म माता जानकीजी नित्य गिरिजा स्थान जाने क्रममा तिमी दर्शन गर्न पाउनेछौँ । म सदा यस मार्गमा माता सीताको दर्शन गर्छु र मार्गको सुरक्षा गर्नेछु । मलाई भक्तिभावले दर्शन गर्ने भक्तजनहरूको मनोकामना सिद्ध हुने भन्दै अन्तध्र्यान भए । हनुमानजीको उक्त भनाइअनुसार नै रामानन्दी समुदायका सिद्ध सन्यासी पृतम दासले हनुमानगढीमा मठ बनाएर यसै आश्रममा भगवान्का ध्यानमा लिन भए । भनिन्छ जनकपुर धाममा पहिला आउने सिद्ध महात्माहरूमा चतुर्भुज गिरि र सुर किशोर दासपछि प्रीतम दास, रघुनाथ (औलिया), राम गिरिलगायत आदिलाई मान्ने गरिएको छ ।
चतर्भुज गिरिले श्री राम मन्दिरको, सुरकिशोर दासले श्री जानकी मन्दिरको र पृतम दासले हनुमानगढी हनुमान मन्दिरमा तथा अन्य महात्माहरूले उसै समयमा प्रतिमा प्रतिस्थापित गरी पूजाअर्चना प्रारम्भ गरेको भनिन्छ ।
तर यस प्राचीन हनुमान मन्दिर स्थापनाको सन्दर्भमा अन्य किंवदन्तिहरू पनि सुन्न पाइन्छ । अन्य कथाहरू बाबा तथा गाउँलेहरू बढी रोचक ढंगले सुनाउने गर्दछन् । हनुमानगढीमा रहने गरेका बाबा राजु दासले साक्षत हनुमानजीको दर्शन पाएको कुरा सुनाउँछन् । उनले भने अनुसार – हनुमानजी यस गढीमा प्रायःजसो घुमिरहेका हुन्छन् । बेलाबखतमा आफ्ना प्रिय भक्तहरूलाई साक्षात दर्शन पनि दिने गर्छन् । आफूले दर्शन पाएको सन्दर्भमा उनी भन्दछन्, ‘म प्रायःजसो हनुमानगढी मन्दिरको पश्चिमतर्फ साधु सन्त रहने भवनको बरन्डामा सुत्ने गर्दछु । एकदिनको कुरा हो । म रात्रिको प्रसाद ग्रहण गरेर बरन्डामा सुतेको थिएँ । मलाई निद्रा लागिरहेको थिएन । रात छिप्पिसकेको थियो । मन्दिरको वरिपरि घुमिरहेको १ जनालाई देखेँ । हिँडदा उसको खुट्टामा रहेका घुँघरुबाट ध्वनीहरू निस्किरहेका थिए । केहिबेरपछि मेरा समिपमा पुगे । म केही नबोलेर हेरिरहँे । उनले मेरो टाउकोमा हात राखेर सुम्सुमाए । केही समयपश्चात् नै अन्तरध्यान भए ।’ बाबा राजु दास आनन्दित मुद्रामा भन्छन् – भगवानले कृपा गरेर मलाई बाल स्वरूपमा दर्शन दिए ।
हनुमानगढीको सन्दर्भमा यी बाबा राजु दासले अर्को रोचक कथा पनि सुनाए ।
त्रेतायुगकै समयमा यस हनुमानगढीसँग हनुमानजीको गहिरो सम्बन्ध रहेको छ । भगवान् श्रीराम आफ्नी प्राणप्रिया माता सीतालाई लिएर १४ वर्षको कठोर बनबास बस्दा भोग्नुपरेका अनेकौँ विघ्नबाधालाई पार गरी अयोध्या फर्केपश्चात् राजा शीरध्वज जनकले आफ्ना छोरीज्वाईंहरूलाई मिथिलापुरी आउन संवाद पठाएका थिए । अयोध्यामा केहीदिनका बसाइपछि भगवान् राम आफ्ना परिवारका साथ आफ्ना प्रियभक्त हनुमानजी पनि उनको साथ मिथिला नगरीमा आए । राजा जनकले आफ्ना दरबारका विभिन्न ठाउँमा अवस्थित महलहरूमा आएका सबैको बासको व्यवस्था मिलाए । तर, हनुमानजीलाई राजा जनकको कटहरको बगैँचा रहेको स्थान हनुमानगढीमा गरिएको थियो । अहिले पनि कटहरका गाछीहरू प्रशस्त मात्रामा रहेको छ ।
गाउँले देबचन यादव र रामचन्द्र मन्डलले सुनाए अनुसार ः– श्री जानकीजीलाई निमको रुखमुनि फुसको कुटीमा प्रतिस्थापित गरी महात्मा सुरकिशोर दासले पुत्री भावले पूजापाठ सेवा सत्कार गर्दथे । समय बित्दै जाँदा यहाँको महिमा चारैतर्फ फैलिन पुग्यो । सन्तानविहीन अवस्थामा रहेकी टिकमगढका महाराजा प्रताप सिंहकी पत्नी महारानी वृषभान कुमारीको समीप पनि जनकपुरधाम मिथिला नगरीमा अव्यस्थित श्री जानकीजीको महिमा पुग्यो । एकदिन जानकीजीको दर्शन गर्न आउँदा टिकमगढका महारानी वृषभान कुमारीले श्री जानकी मातसँग मागेको सन्तान प्राप्तिका मनोकांक्षित फल प्राप्त गर्न पुगिन् । सन्तान प्राप्तिका इच्छा पूर्ण भएकाले भाकल गरेअनुसार उनले श्रीजानकीजीको विशाल मन्दिर निर्माण गर्ने लगाइन् । मन्दिर निर्माणपश्चात् हनुमानजीको मूर्ति प्रतिष्थापित गर्न भारतबाट मगाउन लगाइयो । मूर्ति बोकेर भारतबाट आइरहेको बयलगाडा जनकपुरधामको हनुमानगढी आइपुग्दा आफसेआफ आश्चर्यजनक ढंगबाट भाँच्चिन पुग्यो । भाँचिएपछि हनुमानजीलाई कैयौँ प्रयत्न गर्दा पनि उठाउन सकिएन । धेरै प्रयासका बाबजुद पनि हनुमानजीको पाषण स्वरूपका प्रितम उठाउन नसक्दा सबैले हरेस खाए । कैयौँ दिनको प्रयत्नमा पनि उठाउन नसकेपछि हनुमानजीले सपनामा दर्शन दिएर भने, ‘यस मार्गबाट प्रत्येक दिन माता किशोरीजी ‘बाग तडाग’ एवं ‘गिरिजा स्थान’ जाने भएकोले वहाँको दर्शन गर्न तथा यस गिरिजा पथको रक्षार्थ यसै मार्गमा यसै ठाउँमा मलाई स्थापित गरी पूजा पाठ गर्नु ।’ भगवान् हनुमानजीको निर्देशानुसर नै उनलाई यहाँ विराजमान गराएर पूजा पाठ प्रारम्भ भएको भन्ने लोक मान्यता रहिआएको छ ।
यी कथाहरू जे जसो रहे तापनि धार्मिक आस्थाको रूपमा यो स्थल सनातन धर्मावलम्बीहरूका लागि पूजनीय वन्दनीय रहेको छ । १८३८ मा हनुमानजीको भोग राग, पूजापाठ, साधु सन्त सेवा सत्कार, चाडपर्व धर्म संस्कृतिको सदा व्रत सञ्चालन हेतु बराह कुटीका कुश विर्ता मौजा महाराजा गीर्वाण विक्रम शाहले १८६७ सुदी ५ भाद्रको शाही आदेशबाट दिएको भन्ने कुरा विभिन्न किताबहरूमा उल्लेख भएअनुसार यस मन्दिरले प्राचीन, पुरातात्विक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व ओगटेको छ ।
शिखर शैलीमा निर्माण गरिएको यस मन्दिरको पश्चिम तर्फको गर्भ गृह कोठामा पूर्वतर्फ फर्केर रहेका श्रीराम जानकी मूर्ति रहेका छन् । अर्को गर्भ गृह कोठा दक्षिण मुख फर्केर रहेको छ । उक्त कोठामा हनुमानजी दक्षिण मुख गरेर भक्तिभावले विराजमान रहेका छन् । दक्षिणतर्फ महावीरजीका ५ वटा ध्वजा रहेका छन् । यस मध्येका एउटा ध्वजा वर्षभरि हरियो नै रहने गरेको साक्षात् देख्न सकिन्छ । प्रत्येक वर्ष आश्विन दुर्गा नवमीका दिन ध्वजा फेर्ने गरिन्छ ।
यी गर्भगृह कोठाका पूर्व जगमोहन छ । भक्तजनहरू यहीँबाट दर्शन गर्ने गर्छन् । पूर्वतर्फ ठूलो द्वार रहेको छ । मन्दिरलाई चारैतिरबाट पर्खालले घेरिएको छ । मन्दिरको पश्चिमतर्फ साधु सन्त बस्ने भवन रहेका छन् ।
यस मन्दिरकैअन्तर्गत रहेका पश्चिमतर्फ रहेका खाली जग्गाहरूमा बिस्तारै बस्ती बस्न थाल्यो । बस्ती गाउँमा रूपान्तरण भयो । हनुमानजीको गढीमा बस्न पुगेको गाउँलाई हनुमाननगर भनिन थालियो । गाउँको पूर्वतर्फ अवस्थित हुन पुगेको हनुमान मन्दिरको पूर्वतर्फ गिरिजापथ छ । गिरिजा पथको पूर्व एउटा ठुलो विशाल बगैँचा थियो । उक्त बगैँचामा विभिन्न प्रकारका फलफूलका बोटबिरुवालगायत अन्य प्रजातिका ठुलठुला बोटबिरुवाहरू थिए । अहिले बोटबिरुवाहरूलाई नष्ट गरिएको छ । २–४ वटा मात्र बोट बिरुवाहरू मात्र रहेका छन् । जबकी यस हनुमानगढीमा मिथिला क्षेत्रको महाकुम्भ झैँ मानिने मिथिला मध्यमा परिक्रमाको यो पहिलो पडाव (विश्राम स्थल ) हो । मिथिला बिहारीको डोला १५ दिने मध्यमा परिक्रमालाई मिथिला बिहारी नगर पालिकाको कचुरीबाट प्रस्थान गर्दा पहिलो विश्राम जनकपुरधाम उपमहानगर–१२ मा अवस्थित यसै हनुमानगढी हनुमाननगरमा हुने गर्दछ । केही समय पूर्वसम्म हनुमानगढीमा विशाल बन बगैँचाहरू थिए । हनुमान मन्दिरको वरिपरि पनि फूल फूलबारी, वनबगैँचाहरू रहेका थिए । उक्त बगैँचाहरू नानाथरीका फलफूलका तथा अन्य प्रजातिका ठुल्ठुला बोट बिरुवाले भरिएका थिए । यै बोट बिरुवा, वृक्षका मुनि परिक्रमा गर्ने भक्तजनहरू विश्राम गर्दथे । भोलिपल्ट फागुन परेवा दिन स्नान ध्यान गरेर हनुमानगढीमा अवस्थित हनुमानजीको दर्शन गरी आशीर्वाद प्राप्त गरेर कल्याणेश्वर महादेवको दर्शनार्थ प्रस्थान गर्दछन् । परापूर्व कालदेखि मिथिला क्षेत्रको मध्यमा परिक्रमाको पहिलो विश्राम स्थलको रूपमा रहेको धार्मिक सांस्कृतिक धरोहरलाई जानी नजानी क्रमशः नष्ट गर्ने दिशामा सबै उन्मुख भएका छन् । सनातन धर्मावलम्बीहरूको अमूल्य सम्पदा यस धरोहरलाई अतिक्रमणको लपेटाले व्यापक रूपमा जकडीसकेको छ ।
राज गुठीमा गाभिएको यस मन्दिरको सञ्चालन व्यवस्थापन रेखदेख गुठी संस्थानले नै गर्दछ । मन्दिरको पूजापाठ, रेखदेख, साधुसन्तको स्वागतसत्कार आदिमा लाग्ने खर्चका लागि भएका जग्गा मध्येबाट गुठी तैनाथी जग्गा भनेर २९–१–१४–० कायम गरेको छ ।
जबकि तैनाथी जग्गाको सन्दर्भमा गुठी संस्थान ऐन २०३३ को दफा १(ग) ले ‘ कसैको नाममा दर्ता नभएको सम्पूर्ण अधिकार गुठी संस्थानमा रहेको जग्गा सम्झनु पर्दछ ।’ भनेर उल्लेख गरेको अवस्थामा समेत यी जग्गाहरू पूर्णरूपमा अतिक्रमणमा परेका छन् ।
कोही कसैको हक नभएको धार्मिक आस्था विस्वाससँग जोडिएका देवस्थल, वागबगैँचा, पोखरी, पाटीपौवा रहेको क्षेत्रका जग्गालाई समेत अतिक्रमण गर्न बाँकी राखेका छैनन् ।
गुठीको नाममा दर्ता रहेको जग्गाबाट ४–८–१७–३ जग्गा तत्कालीन शिक्षा परियोजनालाई दिएको थियो । जसमा जिल्ला कार्यालयको भवन पनि थियो । संघीयता आए पश्चात् यो भवन मधेस प्रदेशको सभा भवन बनेको छ । मधेस प्रदेश सभा भवनको पश्चिम उत्तरतर्फ बाँकी रहेको १५ दिने मध्यमा परिक्रमा विश्रामस्थललाई अतिक्रमण गरेर मधेस प्रदेशले कबर्ड हल बनाएको छ ।
एकातिर परापूर्व कालदेखि चलिआएको चाडपर्व, जात्रा, मेला, हाट, धार्मिक सांस्कृतिकलाई असर गर्न सक्ने जग्गा जमिन दिइनु वा अतिक्रमणमा पर्नु भनेको कालान्तरमा ती धार्मिक मूल्य मान्यताहरूलाई क्रमबद्ध रूपमा सिध्याउनतर्फ लाग्नु हो । विकासका नाममा परापूर्व कालदेखि रहिआएको धार्मिक सांस्कृतिक महत्वका १५ दिने मध्यमा परिक्रमाको विश्रामस्थल यसरी दिनप्रतिदिन क्रमबद्ध रुपमा साँघुरिँदै जानु भनेको धार्मिक आस्थासँग खेलवाड गर्नु हो । सनातन धर्ममाथिको प्रहार हो । पौराणिक हनुमानगढीको धार्मिक मूल्य मान्यताहरूलाई सिध्याउन उद्धत रहेका राज्य पक्ष तथा गुठी संस्थानका अदूरदर्शिता नीतिका कारण अतिक्रमण गर्नेहरूको सूची लामै रहेको छ ।
यस हनुमान मन्दिर मठ गुठीअन्तर्गत रहेका जग्गाहरू मध्येका अतिक्रमण परेका यी वडा–१२ सिट न.१३९६–०२ कि.न.५९ को १–१६–१७–१३ मध्ये ०–८–५–१; ए ए सिट न.१४३६–२२ कि.न.१८ को १–१६–६–३ पुरै; ए ए सिट न.१४३६–२१ कि.न.६५ को १–११–१३ मध्ये ०–१–८; ए ए १४३६–०१ कि.न.२९ को ०३१९–० मध्ये ०–२–१४; ए ए सि.न.१४३६–१ कि.न.३१को २–७–११ मध्ये ०–१०–५–२; ए ए सि.न.१४७५–०५ कि.न.२८ को ०–९–९–२; ए ए सि.न.१४७५–०५ कि.न.१०७ को ०–१२––१६–३; ए ए सि.न. १४७५–०१० कि.न.९२९ को ०–१३–१९–३ ; ए ए सि.न. १४७५–०५ कि.न.८४ को ०–२–६; ए ए सि.न.१४७५–२२ कि.न.१९ को ०–४–१८–३ पुरै जम्मा ४–९–७–२ जग्गाहरूको अतिक्रमण सन्दर्भमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को उच्चस्तरीय आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई मन्त्री परिषद्ले स्वीकृत प्रदान गरेर तत्तत् निकायले अतिक्रमण मुक्त गराउन निर्णय गरी सरकारले निर्देशन दिसकेको अवस्था हुँदाहुँदै पनि सरोकारवालाहरू मौन बस्नुपर्ने बाध्यताले सारालाई अचम्मित तुल्याएको छ ।
हुन त यस मन्दिरको आफ्नै रीतिथिति व्यवस्थापन रहेको थियो । बराह कुटी मौजाको कुश विर्तासमेत गीर्वाण विक्रम शाहको पालामा पाएको थियोे । यस मन्दिरको आफ्नै प्रशस्त जग्गा जमिन फूलबारी वनबगैँचा पोखरीहरू थिए । गुठी संस्थानअन्तर्गत राजगुठीमा गाभिएपछि गाउँले एवं सम्बधित निकायको उपेक्षाको कारण धार्मिक सांस्कृतिक अमूल्य सम्पदा नष्ट हुने अवस्थाबाट गुज्रिरहेको छ । यसको संरक्षण सम्बर्धनतर्फ धर्मका नाममा खुलेका संघ संस्था, धार्मिक आस्था भएका तथा सरोकारवाला सम्बन्धित निकायले समयमै ध्यान पु¥याएर धार्मिक पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्न अल्पकालीन, दीर्घकालीन योजनाको तर्जुमा गर्नसकेमा मात्र यस पौराणिक धार्मिक धरोहरको अस्तित्व जोगिने थियो कि ? अस्तुः ।
प्रतिक्रिया