जनकपुरधाम । लामो समयदेखि पार्टीको गतिविधिमा संलग्न नरही मौन रहेका लोसपाका नेता तथा पूर्वमन्त्री अनिलकुमार झा लोसपामै यथावत रहने भएका छन् । लोसपा चाहे अनुसारको गति लिन नसकेपछि असन्तुष्ट बन्दै राजेन्द्र महतो र झा लोसपा परित्याग गरेको चर्चा चुलिएको थियो । महतो राष्ट्रिय मुक्ति क्रान्ति नामक राजनीतिक अभियानमा छन् भने झा मौनजस्तै थिए ।
जनकपुरधाम आएका झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘मधेसवादको राजनीतिबाट कतै डगमग हुने मनस्थिति छैन, अनेकन पार्टी खुलेर जनतामा गलत धारणा फैलिरहेको स्थितिमा नयाँ पार्टीको औचित्य पनि छैन, लोसपामै रहेर राजनीति गर्छु ।’ धनुषा निर्वाचन क्षेत्र नं. ३ मा सम्मानजनक मत ल्याएर एकाएक गायब हुनुभयो नि ? भन्ने प्रश्नमा उनले भने, ‘गायब भएको होइन, पार्टी भित्रका केही कारणहरूले मन नलागेर अलिक आफ्ना कामहरूमा व्यस्त थिए, अब जनकपुरधाममा डेरा खोज्दै छु यहि बसिन्छ ।’
जनकपुरधाममै बसेर आफ्ना मतदाता माझमा पुग्ने र साक्षात्कार गर्ने उनको तयारी रहेको बताए । उनले क्षेत्रीय र खासगरी मधेसवाद र संघीयतामाथि देखिएको संकट निवारणका लागि मधेसमा नयाँ पार्टीभन्दा पनि भएका पार्टीहरू बीचको सहकार्य आवश्यक रहेको पनि बताए । उनले स्थानीयदेखि संघीय संसद्सम्म जनकपुरधामबाट ठुला पार्टीले जिते पनि विकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
स्रोतका अनुसार उनले लोसपा राम्ररी चलोस् भन्ने चाहेका थिए, पार्टी अध्यक्ष महन्त ठाकुरले त्यसमा चासो नदेखाएपछि असन्तुष्ट रहेका झालाई पार्टीमा सक्रिय हुन पार्टी नेतृत्वले आग्रह गरेको र त्यसै अनुसारको भूमिका दिनसमेत सहमत भएको हो । आमनिर्वाचन २०७९ को उम्मेद्वारी मनोनयनको पूर्वसन्ध्यामा एकाएक आफ्नो रौतहटको निर्वाचन क्षेत्र छोडेर लोसपाको भागमा परेको धनुषा क्षेत्र नं. ३ मा आएर निर्वाचनमा होमिएका झाले सम्मानजनक २३ हजार ६८६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी भएका थिए ।
गठबन्धनका कारण रौतहटको उनको जितेको क्षेत्र नं. १ नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भागमा परेपछि उनी अन्तिम समयमा धनुषा ३ बाट चुनाव लडेका थिए । मधेसवादका प्रणेता स्व.गजेन्द्रनारायण सिंहबाट प्रभावित भएर मधेसवादको राजनीतिमा लागेको उनले संघीयता र मधेसवाद समाप्तीका लागि भइरहेको षड्यन्त्रप्रति सचेत रहनुपर्ने समय आएको बताए ।
प्रतिक्रिया