फूल–फूलबारी, वन–बगैँचा, पोखरी–तलाउ, इनार–कुवा, मठ–मन्दिर, मठ–मन्दिरले चर्चेको जग्गा र अमूल्य मूर्ति–गर–गहना, ठुल–ठुला घण्टा, शिलापत्र, ताम्रपत्र, काष्ठ पत्रलगायत जनकपुरधामका अमूल्य धरोहरहरू मासिँदा पनि कुनै प्रकारले पनि कानुनी कर्तव्य निर्वाह गरेको पाइँदैन । कानुन सम्मत रूपमा दिइएको अधिकारलाई थाती राख्दै बल्की जनकपुर धामको अमूल्य धरोहरहरूलाई सिध्याउने कागजी जालझेल मिलाउने संस्थानको रूपमा पो देखा पर्न थाल्यौ ।
हजारौँ बिघा जग्गा, यहाँका अमूल्य सम्पदाहरू अरूलाई बन्दोबस्त गर्ने गुठी संस्थानको आफ्नो भवनसमेत निर्माण गर्न सकेनौ । वर्षौंदेखि राम मन्दिरको परिसरभित्र साधुसन्त बस्ने भवनमा नै आफ्नो कार्यालय राख्दा पनि तिम्रै कार्यालय अगाडि अवस्थित बगैँचालाई समेत सौन्दर्यकरण गर्ने दिशामा कुनै कदम चालेनौँ । झन् सामुन्ने नै अवस्थित प्राचीन रामयन भवनलाई त भाडामा नै लगाइदियौ । चुहिएर भत्किएर जीर्ण अवस्थामा पुगेर भाडामा नजाने भएपछि पनि त्यसलाई जीर्णोद्धार गरी प्राचीन सम्पदालाई संरक्षण सम्बद्र्धन गर्नेतर्फ कुनै औचित्य नै ठानेनौ । राम मन्दिरका प्राचीन पुरातात्विक महत्व रहेको झुला घरलाई त विद्यालय मै परिणत गरिदियौँ । झुलनका समय उक्त विद्यालयका अध्ययन नै रोकी विधि पुर्याउने, झारो टार्ने झुलन महोत्सव गर्न थाल्यौँ । तिमीले गरेका सूची हेर्ने हो भने कहालीलाग्दो छ ।
सनातन धर्मावलम्बीहरूको पवित्र स्वच्छ विश्वविख्यात धार्मिक तीर्थस्थल जनकपुरधामका भगवान्का नाममा रहेका धार्मिक आस्थाका धरोहरहरू फूल–फूलबारी, वन–बगैँचाहरूलाई भन्टाबारीमा रूपान्तरण गर्दै अनि खुर्सानीबारीमा परिणत गरी घरबारी कायम गर्दै भोगचलन देखाउँदै रैतान नम्बरी गरिदिएका छौ । बाँकी बाँचेका फूल–फूलबारी, वन–बगैँचाको अतिक्रमण मुक्त गराउनुको सट्टा व्यक्तिगत स्वार्थमा अल्झिएका कारिन्दाहरूका माध्यमबाट धार्मिक आस्थामाथि प्रहार गर्दै, मूल्य मान्यताहरूलाई लत्याउँदै अमूल्य धरोहरहरूलाई लिजमा लगाउने, बेचबिखन गर्ने, ठेक्कापट्टा लगाई सम्पूर्ण आम्दानीलाई केन्द्रमा लिएर जाने संस्थानको रूपमा पो देखापरेछौ । जनकपुरधामलाई दुहोनो गाई पो सम्झेका रहेछौ । दूध जति तिमीले खाने जनकपुरधामले मात्र चारो हालिदिनु पर्ने रे !
पोखरी–तलाउहरूलाई हेर्ने हो भने विगतमा तलाउको डिल २५ फिट कायम गरेर रैतान नम्बरी हुने प्रावधानलाई व्यक्ति विषेशबाट प्रभावित भएर २०५४ सालमा उक्त प्रावधानलाई उल्टाउँदै १५ फिट कायम गर्न पुग्यौ । धार्मिक महत्वका पोखरी तलाउहरूलाई धार्मिक आश्था धार्मिक सांस्कृतिक मूल्यमान्यता विपरीत माछापालनका लागि ठेक्कामा लगाउन थाल्यौँ । नापीका नक्सा फिल्डबुकमा धार्मिक महत्वका पोखरी तलाउहरू देखिँदादेखिँदै पनि डबरा, खत्ता, पर्ती जग्गामा परिणत गर्दै कागजी जालझेलका साझेदार बनी न्यापालिकाबाट नै पाको काम गराउने एउटा कारिन्दामा गनिन पुग्यौ । अनेकौँ धार्मिक तलाउहरू अतिक्रमित हुँदाहँुदै पनि माछापालनका लागि ठेक्का लगाई रकम संकलन गरेर थुपार्नेबाहेक अतिक्रमण मुक्त गराई संरक्षण, सम्बद्र्धन एवं सौन्दर्यकरणका मार्गमा एउटा सिन्कासमेत भाँचेनौ । तर तलाउका डिलहरूलाई छुट जग्गाका रूपमा भोगचलन कायम गर्दै रैतान नम्बरी गराउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नचाहिँ पछि परेनौ । कतिपय पाको गर्ने गराउने कर्ममा अल्झाएर राखेका छौ । कुरा मिले बाँकी पनि क्रमबद्ध रूपमा गर्ने नै छौ ।
इनार–कुवाहरूको के कुरा गर्नु ? अन्तगृह परिक्रमा क्षेत्रभित्र नै धार्मिक, सांस्कृतिक महत्वका लगायत सार्वजनिक लगभग १४४÷४५ इनार कुवाहरू थिए । विगतको नापीको नक्सा, फिल्डबुकमा देख्न सकिने अधिकांश कुवा–इनारहरू छुट जग्गाको रूपमा व्यक्तिको नाममा रैतान नम्बरीमा परिणत गर्न÷गराउनतर्फ लाग्यौ । त्यसमध्ये जो बाँचेका छन ती पनि जाने क्रममा तिम्रो पछि लागेका नै छन् । सो पनि रैतान नम्बरी गर्ने गराउने प्रक्रिया पूरा गर्ने नै छौ । त्यसमध्येका पनि जो अस्तित्वमा देखिएका छन् । ती पनि जीर्र्ण अवस्थामा छन् । फोहोरमैलाले भरिँदै छन् । जबकी यहाँ धार्मिक सांस्कृतिक रीतिरिवाजअनुसार कुल देवताको पूजापाठ, घरवास गर्दा तथा धार्मिक अनुष्ठान गर्दा ५६ वटा इनारको जल प्रयोग गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ ।
मठ–मन्दिर, कुटीहरू गनाएर, भनेर साध्य नै छैन । लगभग ४६–४७ वटा प्राचीन पुरातात्विक महत्वका मठ–मन्दिर, कुटीहरू लोप भइसकेका छन् । मठ–मन्दिर, कुटीहरूका प्राचीन मूर्ति, गरगहनाहरू समेत बेपत्ता पारिएका छन् । बाँकीरहेका मठ–मन्दिरहरूमा घरजम गरेर बसेका छद्मभेषी मठाधीशहरूको घरपरिवारभित्र भगवान्हरू कैद भएका छन् । दर्शन गर्न भित्र छिर्न पनि भक्तजनहरूलाई असम्भव नै छ । केही मठ–मन्दिरका गुम्बजहरूलाई भत्काएर तिनको स्वरूपलाई परिवर्तन गरी पारिवारिक घरमा परिणत गरिएको छ । उक्त घरको एउटा सानो कोठामा भगवान्का मूर्तिहरू राखेर घरका देवताका रूपमा राखिएका छन् । केही समय पश्चात् ती देवीदेवताहरू पनि बेपत्ता भई पूर्ण रूपमा घरमा परिणत हुनेछ । यस्ता कुराहरूसँग तिम्रो कुनै सरोकार हुने कुरै भएन ।
जबकि परापूर्व कालदेखि नै सिद्ध सन्त महन्त महापुरुषहरूको आश्रम, कुटी रहेका पौराणिक अध्यात्मिक, धार्मिक, सांस्कृतिक महत्वका मठ–मन्दिर, सरोवर पोखरी, बन–बगैँचा, फूल–फूलबारीहरू तथा मौलिक धर्म–संस्कृति, चाडपर्व, मेलाहरूले गर्दा नै विश्वभरका सनातन धर्मावलम्बीहरूको जनकपुरधाम गन्तव्यस्थल बन्न पुगेको हो । धार्मिक शास्त्रीय ग्रन्थहरूले समेत व्याख्यान गरेका महिमा गाएका जनकपुरधाम मिथिलापुरी विश्वका सनातन धर्मावलम्बीहरूको पूजनीय बन्दनीय पवित्र स्वच्छ धार्मिक तीर्थस्थल रहेको छ ।
यस्ता धार्मिक तीर्थस्थलहरूमा रहेका धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा व्यवस्थापनका लागी गुठी संस्थान ऐन २०३३ र गुठी संस्थान (कार्य व्यवस्था) विनियम पनि बनेको हो । समयसमयमा सत्ता र व्यवस्था परिवर्तनसँगसँगै संशोधन हुँदै आएको छ । सरकार परिवर्तन सँगसँगै गुठी संस्थानमा राजनीतिक आस्थाका आधारमा नियुक्त हुने प्रशासक, केन्दीय समितिका अध्यक्ष एवं सदस्यहरू व्यक्तिगत स्वार्थमा अल्झेर जनकपुरधामका अमूल्य सम्पदा सिध्याउने दिशामा गलत निर्णय गर्नसमेत पछि नपरेको कैयौँ उदाहरणहरू जनकपुरधामको सन्दर्भमा देख्न सकिन्छ ।
२०४६ चैत २६ गतेभन्दा पहिले बसोबास गरेका आधार प्रमाण जुटाएमा रैतान नम्बरी गर्ने प्रावधान, २०५४ सालमा पोखरीका डिलहरू २५ फिट कायम गरेर रैतान नम्बरी गर्ने प्रावधानलाई उल्टाउँदै १५ फिट कायम गर्ने निर्णय, मिथिला क्षेत्रको महाकुम्भ झैँ रहेका १५ दिने मध्यमा परिक्रमाको पहिलो विश्रामस्थल हनुमानगढीको परिक्रमाबासी बास बस्ने बगैँचा लगभग साढे ४ बिघा जग्गा अरू निकायलाई दिएर परिक्रमालाई अव्यवस्थित पार्ने निर्णयजस्ता थुप्रै जनकपुर धामका धार्मिक सांस्कृतिक चाडपर्व मेलालाई प्रभावित हुने निर्णयहरूसमेत गरिएका छन् ।
जबकी गुठी ऐनको दफा २५ को उपदफा (४) मा ‘उपदफा (१) (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनी देवस्थल रहेका वा देवीदेवता देवस्थल पर्वपूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्तीजग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गा दर्ता बदर गर्न सक्नेछ’ भनेर स्पष्टसँग कानुनी प्रावधान रहेता पनि जनकपुर धामका धार्मिक सांस्कृतिक तथा यहाँका अमूल्य सम्पदाहरूलाई सिध्याउने दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्थानका रूपमा स्पष्ट देखा परिरहेका छौ ।
यहाँसम्म कि अन्तगृह परिक्रमाभित्र पोखरीहरूमा माछा तथा जीव हत्या गर्नेजस्ता कार्य पूर्वका समयदेखि नै निषेध गरिएको अवस्थामा तिमी स्वयंले धार्मिक आस्थाका तलाउहरूमा माछापालनका लागि ठेक्का लगाइरहेका छौँ । परापूर्व कालदेखि नै निषेध रहेको कुरालाई मध्यनजर नगरी सनद पत्र, राज पत्र, सरकारको परिपत्र, स्थानीय निकायका निर्णयहरूलाई समेत बेवास्ता गर्न पुग्यौ । निषेध गर्नेतर्फ पाइला चाल्नुको साटो झन् धार्मिक सांस्कृतिक मूल्यमान्यता विपरीत माछापालनका लागि ठेक्का लगाउने कार्यहरू गर्दै आएका छौ । पोखरीको ठेक्काबाट लाखौँलाख रकम कुम्लाइरहेको गुठीले उक्त तलाउहरूको संरक्षणमा एक पैसा खर्च गर्नसमेत तिमीलाई धौ धौ पर्यो ।
यति मात्र कहाँ हो र ! जबकी गुठी ऐनमा भनिएको छ, ‘यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै धार्मिकस्थल, धार्मिकस्थलले चर्चेको जग्गा, बाग–बगैँचा, सार्वजनिक पोखरी, मठ–मन्दिर, पाटी, पौवा, सत्तल वा पर्व पूजा, जात्रा आदि सञ्चालन हुने स्थलको रूपमा रहेकोे सार्वजनिक गुठी र निजी गुठीको जग्गा गुठी रैतान नम्बरीमा परिणत गर्न सकिने छैन । तर विडम्बना के छ भने निजी गुठीको कुरै छाडौँ राजगुठीमा परिणत भएका मठ मन्दिरले चर्चेको जग्गासमेत मन्दिरको अस्तित्व नै समाप्त पार्ने गरी लिजमा लगाइएका छन् । भाडामा दिइएका छन् । रैतान नम्बरीसमेत गरिएक छन् । राजगुठीअन्तर्गत रहेका मठमन्दिरले चर्चेको जग्गा हेर्दा नै छर्लंग देखिन्छ ।
राजगुठीअन्तर्गत रहेका मठमन्दिरका अभिलेखहरू, काष्ठ पत्र, ताम्र पत्र, शिला पत्र, सनद, दानपत्र गुठी संस्थानमा खोज्दा उपलब्ध हुन सक्दैन । राम मन्दिर, रत्न सागर, रानीपाटी लगायतका मठ–मन्दिरमा रहेका ठूल–ठूला घण्टाहरूसमेत तिमीले बेपत्ता पारेकोमा आरोपित भएका छौ । निजी गुठीको त लगतसम्म कायम गर्न सकेको छैन । परापूर्वकालदेखि दिइआएको पूजा–पाठ, भोग–राग, चाडपर्व, तथा मठमन्दिरमा कायम गरिएका पुजारी, महन्त टहलु लगायतकाले पाइरहेका रकम हेर्ने हो भने दर्दनीय अवस्था रहेको छ । धर्मावलम्बीहरूले सहयोग नगर्ने हो भने तिमीले कायम गरेका रकमले त दैनिक पूजापाठसमेत नहुने अवस्था रहेको छ ।
तिम्रो काम त मात्र पोखरी, बजार, सटरहरू ठेक्कामा लगाउने, जग्गा जमिनका कुतहरू बुझ्ने, रैतान नम्बरी गर्ने, लिजमा लगाउने जस्ता मात्र रहेछ । यी बाहेक प्राचीन ऐतिहासिक पुरातात्विक महत्व रहेका धार्मिक–सांस्कृतिक अमूल्य सम्पदाहरूको संरक्षण, सम्बद्र्धन गर्ने कार्य रहेनछ ।
लाखौँ आम्दानी पोखरी तलाउ, कृषि बजार, हाटलगायत अन्यबाट आम्दानी असुली गरिरहेका तिमीले हालसम्म यहाँका धर्म–संस्कृति, मठ–मन्दिर, तलाउहरूको संरक्षण सम्बद्र्धनतर्फ ठोस कार्य योजनाको तहत कुनै उदाहरणीय कार्य गर्न सकेका छौ त ? शायद भन्न सक्दैनौँ होलाउ । आम्दानी जति तिमीले लाने संरक्षण सम्बद्र्धन सौन्दर्यकरणचाहिँ अरू निकायले गरी दिनुपर्ने ? दुःखदायी अवस्था सिर्जना गरिदिएका छौ ।
यस्ता अनेकौँ दुःखदायी अवस्था सृजित भएका छन् । समयमै जनकपुरधामबासीले नसोचे धार्मिक ग्रन्थमा उल्लेख रहेका पवित्र धार्मिक तीर्थस्थल जनकपुर धामको धार्मिक सांस्कृतिक अस्तित्व नै दिन प्रतिदिन एकपछि अर्को गर्दै सिद्धिने अवस्थामा पुग्दै छ । यसको प्रमुख जिम्मेवार गुठी संस्थान नै हो र जिम्मेवारी पनि उसैले लिनैपर्छ । जनकपुर धामका लागि अभिशापका रूपमा देखापरेका गुठी संस्थानको छवि जनमानसमा नांगिसकेको छ ।
यसर्थ जनकपुरधामका लागि अभिशाप सिद्ध भएका यस संस्थानमाथि छानबिन गरिनु नै पर्छ ।
केन्द्रीय सरकारले अविलम्ब पहल गरी छानबिन समिति गठन गरेर गुठी संस्थान, मालपोत कार्यालय, नापी र भूमि सुधार कार्यालयलाई छानबिनको दायरामा ल्याइयोस् । र जालझेलयुक्त कागजी प्रक्रियाद्वारा धार्मिक सांस्कृतिक अमूल्य सम्पदाहरूलाई सिध्याउन भूमिका निर्वाह गरेका उक्त कार्यालयका कर्मचारीहरूलाई छानबिन गरेर कारबाही गर्दै जनकपुर धामका धार्मिक, सांस्कृतिक सम्पदाहरूलाई पुनः कायम गर्ने दिशामा कदम चालियोस् । अस्तुः ।
प्रतिक्रिया