बुधबार बिहान काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ मा नगरकी उपप्रमुख गीता बन्जरा रुझ्दै किसानको गोठ अवलोकन गर्न पुग्छिन् । त्यहाँ पुग्दा केही माहोल भावुक पनि बन्यो सोही वडाको महाभिरको पहाडी गाउँमा बसेकी सुशीला घिमिरेको जीवन कहालीलाग्दो थियो । श्रीमान् १० वर्षदेखि बेपत्ता, २ छोरा र बुढा ससुराको जिम्मेवारी लिएर उनले धैर्यताको जीवन बिताइरहेकी थिइन् । तर, उनको जीवनमा परिवर्तन ल्याउने पनौती नगरपालिकाको पाडी वितरण कार्यक्रमले उनको मुटुमा आशाको सञ्चार गरेको सुनाइन् ।
सुशीलाले पाएको पाडी पहिलोपटक सुत्केरी हुँदा उनमा आशाको किरण देखा पर्न थाले । त्यही पाडीको सुत्केरी भत्ताले पाडी किन्दा गरेको लगानी फिर्ता भयो । गोठमा दुहुनो भैँसी भएपछि उनलाई परिवार चलाउन सहज भयो । दोस्रोपटक पाडी गर्भवती हुँदा, उनको मुहार उज्यालो हुनका साथै उनले पाडीले दिएको खुसीले आफ्नो दुःख बिर्साएको समेत बताइन् ।
पनौती नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले सुशीलाजस्ता धेरै किसानलाई राहत दिएको छ, तर गाउँभरि आर्थिक स्थिति सुधार्न पनि ठूलो योगदान गरेको छ । राजेन्द्र श्रेष्ठले पनि यही कार्यक्रमबाट लाभ उठाए । दैनिक ८ लिटर दूध उत्पादन गरेर उनले मासिक २५ हजार रुपैयाँ आम्दानी गर्न सफल भए ।
तर, यो कार्यक्रमले पनौती नगरपालिकाको ध्यान नपाउँदा अब किसानहरू चिन्तित छन् । कार्यक्रमको निरन्तरता रोकिएको र नगरपालिकाले पाडी बिक्रीलाई नियन्त्रण नगर्दा, धेरै किसानहरू आफ्ना पाडीहरू बेच्न बाध्य भएका छन् ।
किसानहरूले यो कार्यक्रमलाई पुनः सुरु गर्न आग्रह गरिरहेका छन्, जसले उनीहरूको जीवनस्तरलाई अझ सुधार्न सक्छ । ‘कमजोर आर्थिक अवस्था भएका कृषकहरूका लागि यो कार्यक्रम अत्यन्त प्रभावकारी थियो’, पूर्व वडा अध्यक्ष ईश्वर जंगमले भने ।
पनौतीमा सुरु भएको यो कार्यक्रमले अन्य पालिकाहरूलाई पनि प्रेरित गर्यो, तर अब यसलाई पुनः स्थापित गर्नुपर्ने बेला आएको किसानहरूको विश्वास छ । ‘हाम्रो जीवनमा आशा ल्याउने यो कार्यक्रमलाई निरन्तरता दिन हामी सबैको प्रयास आवश्यक छ’, एक किसानले भने । नगर उपप्रमुख गीता बन्जराले कार्यक्रमबारे भनिन्, ‘यो कमजोर आय स्तर भएका किसानहरूका लागि एक महत्वपूर्ण कार्यक्रम हो । यसले किसानका आयआर्जनमा धेरै सहयोग गरिरहेको छ । हामीले गाउँ लक्षित योजना सोच्नुपर्छ जसले ग्रामीण भेगमा असली किसानको रोजीरोटीमा सघाउ पुर्याओस् ।’ यो बिउ पुँजीको रूपमा हामीले त्यसबेला ल्याएको योजना अहिले पनि गाउँमा यस कार्यक्रमको माग हुनु भनेको धेरै सकारात्मक पक्ष हो बन्जराले भनिन् ।
पाडी वितरण कार्यक्रमले प्रभाव पारेको र जनजीवन उकासेकोमा अरू पालिकाहरूले पनि यो अनुसरण गरिरहेकोमा हाल यो नगरपालिकाले भने कार्यक्रम नै बन्द गरेको छ ।
पनौती–१२, महभिरमा बुधबार बिहानको झरीमा, पशुपालनको सकारात्मक अवस्थाको अवलोकन गर्न, उमप्रमुख गीता बञ्जारा र पशु सेवा शाखाका प्रमुख लीलानाथ सापकोटाको नेतृत्वमा एक टोली स्थानीय किसानहरूको गोठमा पुगेको थियो । किसानहरूको दूध उत्पादन र पशुपालनमा आएको सुधारको स्थलगत अध्ययन गर्न, उनीहरू यस अघिल्लो कार्यकालमा वितरण गरिएको पाडी संरक्षण र वितरण कार्यक्रमको अवस्था बुझ्न पुगेका थिए ।
महभिरका स्थानीय किसान राजेन्द्र श्रेष्ठ, जसले २०७६ मा पनौती नगरपालिकाबाट भैँसी पाएका थिए, ४ महिनाअघि सुत्केरी भएका भैँसीबाट दैनिक ८ लिटर दूध उत्पादन गर्न सफल भएका छन् । ‘पहिलोपटक भैँसी लिँदा ५ हजार ५०० रुपैयाँ परेको थियो, अहिले भैँसीले दैनिक ८ लिटर दूध दिन्छ । यसबाट मासिक १५ हजार रुपैयाँ आम्दानी हुन्छ’, श्रेष्ठले खुसी हुँदै भने । ‘यस कार्यक्रमले मलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ, र म अब गाई पनि पालन गर्न सक्षम छु ।’
पनौती नगरपालिकाले २०८०/०८१ मा मात्र पशु सेवा शाखामार्फत २० लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । यस कार्यक्रमअन्तर्गत, पहिलो बेतको लागि ७१४ भैँसीलाई सुत्केरी भत्ता दिइएको थियो, जसमा कुल ९१८ भैँसी वितरण गरिएका थिए । यो कार्यक्रमले स्थानीय किसानहरूलाई आर्थिक रूपमा सहयोग पुर्याएको छ, विशेष गरी वृद्ध, विधवा, एकल महिला र गरिब परिवारहरूलाई ।
महभिरमा मात्र नभई, नगरका अन्य वडाहरूमा पनि यो कार्यक्रमले उल्लेखनीय प्रभाव पार्दै आएको छ । ‘पहिला पनि औषधिमुलो र अन्य औषधिहरू नियमित रूपमा वितरण हुँदा राम्रो भयो’, एक स्थानीय किसानले बताए । अहिले त लैनो पाडो बेच्दा डेढ लाखसम्म आम्दानी हुन्छ । यो कार्यक्रमले गरिब किसानहरूलाई ठूलो सहयोग पुर्याएको छ ।
तर, यो कार्यक्रममा केही चुनौतीहरू पनि सामना गर्नुपरेको छ । केही किसानहरूले भैँसी बेच्ने र सम्झौता भंग गर्ने घटनाहरू पनि भएको छ । सम्झौतामा उल्लिखित रकम फिर्ता नगर्ने किसानहरूले ४२ हजार ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, र भैँसी फिर्ता गर्नुपर्छ ।
समग्रमा, पाडी वितरण कार्यक्रमले स्थानीय किसानहरूको आर्थिक स्थिति सुदृढ पार्न र दूध उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सफल भएको छ । किसानहरू यो कार्यक्रमको निरन्तरता चाहन्छन्, जसले उनीहरूको जीवनस्तरमा थप सुधार ल्याउन सहयोग पुर्याउनेछ ।
पनौती नगरपालिकाले सुरु गरेको भैँसी संरक्षण कार्यक्रमअन्तर्गत चालु वर्ष २०८०/०८१ मा नगर क्षेत्रभित्र सुत्केरी भएका नगरपालिकामा दर्ता भएका ७१४ वटा भैँसीलाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । सुत्केरी भत्ता बापत कृषकहरूले २० लाख ४० हजार रकम प्राप्त गरेका छन् ।
पनौती नगरपालिकाले पाडी वितरणका लागि २०७६/२०७७ सालमा कार्यविधि तयार गरेको थियो । सोही कार्यविधि अनुसार ९१८ वटा पाडी कृषकहरूलाई उपलब्ध गराइएको छ । त्यसरी उपलब्ध गराइएका पाडीहरू बिक्रीका लागि नगरपालिकाको अनुमति अनिवार्य थियो । बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो ।
बिमा, उपचार लगायतका सुविधासमेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलोपटक सुत्केरी हुँदा ५ हजार रुपैयाँ कृषकहरूले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन् । नगरपालिकाले पहिलोपटक सुत्केरी भएका भैँसीलाई ५ हजार र दोस्रोपटक तथा थप पटकमा २ हजार उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा २०८ वटा पहिलोपटकका र ५१० वटा अन्य पटकका भैँसी सुत्केरी भए बापत नगरपालिकाले २० लाख ४० हजार कृषकहरूलाई उपलब्ध गराएको छ । यो सुविधा गाई र बाख्रामा छैन । नगरपालिकाले वडा–३, ८ र १० नम्बर वडालाई गाई पकेट क्षेत्र र वडा–६, ९ र ११ मा बाख्रा पकेट क्षेत्र बनाउने गरी अनुदान उपलब्ध गराएको थियो । केही स्थानमा बयर जातका बोका पनि वितरण गरिएका थिए । आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८ मा १२ वटै वडामा ९१८ वटा पाडी वितरण गर्यो । वडा–१ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरू धमाधम सुत्केरी भएका छन् । त्यसबाट नगरबासीहरूले निरन्तर आम्दानी लिन थालेका छन् ।
‘भैँसी आयात रोक्ने, स्रोत केन्द्र बनाउने र नागरिकलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरपालिकाको एक मात्रै लक्ष्य थियो’, पूर्व नगरप्रमुख भीम न्यौपानेले भने, ‘उक्त कार्यक्रमबाट धेरै नगरबासीहरू लाभान्वित भएका छन् ।’ ‘त्यति बेला जनप्रतिनिधिहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अहिले फिक्का भएका छन्’, नगरउपप्रमुख गीता बन्जाराले भनिन्, ‘नगरपालिकाले उपलब्ध गराएको एउटा पाडीले अहिले कृषकका गोठ भरिन थालेका छन् ।’ गरिब तथा एउटा भैँसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम झनै प्रभावकारी देखिएको उपप्रमुख बन्जाराले बताइन् ।
दोस्रो पटकसम्म सुत्केरी भइसकेको पाडीबाट भएको आम्दानी र त्यसले कृषकलाई बनाएको खुसी केहीमा पनि तुलना हुन नसक्ने उपप्रमुख बन्जाराले बताइन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट पनौती नगरपालिकाको नेतृत्व परिवर्तन गर्यो । दोस्रोपटक निर्वाचित भएका जनप्रतिनिधिहरूले उक्त कार्यक्रमलाई निरन्तरता त दिएनन् दिएनन् उल्टै मतदानको समयमा हामी निर्वाचित भएर आएको भोलिपल्टदेखि पाडी बिक्री गर्न सहज बनाइदिन्छौ भन्दै भोट मागेकाले १०० भन्दा धेरै पाडीहरू कृषकहरूले नगरपालिकाको अनुमतिविना बिक्री गरिसकेका छन् ।
नगरपालिकाको कार्यविधिअनुसार त्यसरी बिक्री गरिएका पाडीहरूको लागत अनुसारको २० प्रतिशत रकम नगरपालिकाको राजस्व शाखामा बुझाउनुपर्छ । अनुगमन नभएको र नगरपालिकाबाटसमेत बेवास्ता गरिएकाले अधिकांश कृषकहरूले नगरपालिकालाई बुझाउनुपर्ने रकम बुझाएका छैनन् । २०७९ सालअघि त्यसरी बिक्री गर्ने केही कृषकहरूले नगरपालिकामा रकम जम्मा गरेका थिए ।
पशुपंक्षी शाखाका प्राविधिक लिलानाथ सापकोटाले उक्त कार्यक्रमबाट कृषकहरू अत्यन्त खुसी हुने गरेको बताए । कृषकहरूको गोठ भरिँदा ओठमा आएको खुसीले काम गर्न उत्साह भरिने सापकोटाले बताए । अधिकांश कृषकहरू उक्त कार्यक्रमको निरन्तरता चाहन्छ तर नगरपालिकाको कार्यक्रम सुत्केरी भत्ताबाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन ।
कमजोर आर्थिक अवस्था भएका कृषकहरूका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरूको जीवनोपयोगी र आयआर्जन वृद्धिका लागि प्रमुख माध्यम पनि थियो । उक्त कार्यक्रम सो वडामा मात्रै नभई विभिन्न वडाको विभिन्न गाउँमा लागू गरिएको थियो । महभिरलगायत अन्य वडाको किसानहरूले यस कार्यक्रमको पुनः सुरुआतको माग गरिरहेका छन्, जसले उनीहरूको जीवनमा परिवर्तन ल्याएको छ ।
प्रतिक्रिया