मुम्बई । चर्चित भारतीय कमेडियन राजपाल यादव आर्थिक रूपमा अप्ठेरो अवस्थामा पुगेका छन् । उनले बैंकको ऋण समयमा चुक्ता गर्न नसकेपछि घर लिलाम भएको छ । राजपाल यादवले सेन्ट्रल बैंक अफ इन्डियाबाट लोन लिएर फिल्म बनाएका थिए । उनले आफ्नो बुबा नवरंग यादवको नामबाट ऋण लिएका हुन् । ऋणका लागि नवरंगको घर तथा सम्पत्ति बंैकले धितो राखेको थियो । राजपालले लोन तिर्न नसकेपछि उनका पिताको सम्पत्तिलाई बैंकले जफत गरेको छ ।
राजपालले बैंकबाट लिएको ऋण रकम ३ करोड मात्र हो । समयमा किस्ता तिर्न नसकेपछि ब्याज बढ्दै गएर ११ करोड पुगेको छ । बैंकले पटकपटक ताकेता गर्दा पनि राजपालले लोन तिर्न सकेनन् । अन्ततः गत ८ अगस्टमा सेन्ट्रल बैंक अफ इन्डिया बान्द्रा कुर्ला कम्प्लेक्स ब्रान्चको टिम उत्तर प्रदेशस्थित शारजहापुरमा पुगेको थियो । अधिकारीहरूले यादवको प्रपर्टी सिल गरिदिएर पोस्टर टाँसेर हिँडे । उक्त पोस्टरमा लेखिएको छ– यो प्रपर्टी अब सेन्ट्र बैंकअफ इन्डियाको हो, यसलाई खरिदबिक्री गर्न सकिँदैन ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार अधिकारीहरूले घर सिल गर्न यति हतार गरेका थिए कि घरभित्र रहेका कतिपय विद्युतीय सामानहरू बन्द गर्नसमेत मौका दिइएन । प्रहरीको सहायताबिनै बैंकका अधिकारीहरूले निजी सम्पत्तिमा हस्तक्षेप गरेका थिए । कुनै बेला निकै चल्तीका कमेडियन राजपालको फिल्मी करिअर यतिबेला चौपट अवस्थामा छ । आफ्नो होम प्रोडक्सन फिल्म सुपर फ्लप भएपछि उनी आर्थिक संकटमा परेका हुन् । उनले सन् २०१२ मा रिलिज भएको फिल्म ‘अता पता लापत्ता’ मा अभिनय गरेका थिए । यो फिल्मलाई उनकै पत्नी राधा यादवले निर्देशन गरेकी थिइन् । यही फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डयाबाट लोन लिएका हुन् ।
सोही फिल्ममा ५ करोड लगानी गरेका फिल्म रिलिज अगाडि बिजनेसम्यान एमजी अग्रवालले राजपालमाथि धोकाधडीको आरोप लगाए । उनले दिल्ली उच्च अदालतमा मुद्दा हालेपछि अदालतले फिल्मको रिलिजमै रोक लगाइदियो । यादवविरुद्ध चेक बाउन्सको मुद्दा पनि पर्यो । अदालतले जेल सजाय सुनाएपछि उनी पक्राउ परे । तिहाड जेलमा ३ महिना सजाय भुक्तानी गरेर निस्किए ।
बल्लतल्ल फिल्म रिलिज भए पनि दर्शक आएनन् । करोडौँमा बनेको यो फिल्मले केवल ३८ लाख रुपैयाँको व्यापार गर्यो । फिल्मले पैसा नकमाएपछि राजपालले बैंकको ऋण तिर्न सकेनन् । एकताका राजपाललाई फिल्ममा काम गर्न भ्याइनभ्याइ थियो । तर, अहिले उनीसँग खासै काम छैन । कमाइ पनि छैन ।
प्रतिक्रिया