रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको उनले बताए ।
बाराको खुटुवा प्रसौनीमा आजपाद्वारा आयोजित प्रथम भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुट्न, ठग्नका लागि मधेस सरकार र मधेसवादी दलका नेताहरूको पेसा नै बनिसकेको ठोकुवा गरेका छन् ।
‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन् । दलितहरूको घर निर्माणमा भ्रष्टाचार गरेका छन्, राहतको पैसासमेत लुटेका छन् । बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिसन खाएका छन्, भ्रष्ट्राचार गर्नु यहाँका नेताहरूको पेसा भएको छ’, आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार र लुटमा पिएडी गरेका यी भ्रष्ट र चोर नेताहरूले मधेसको व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’
किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरूले मधेसलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए । ‘मानव विकास सूचांकमा तल रहेको मधेस जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधा सहितको जम्बो मन्त्रिमण्डल किन चाहियो ? मधेसलाई समृद्ध बनाउने, मधेसी युवालाई रोजगार दिने कुनै काम यिनीहरूले नगरी केबल लुटने हो र लुट मचाउनकै लागि लागेका छन्’, अध्यक्ष साहले भने ।
भ्रष्टाचारबाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाँटने, लुटने, ठग्ने पेसा नै बनेको बताए । कुनै पनि सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धिजस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले आरोप लगाए ।
मधेसलाई समृद्ध बनाउने अनेक प्रकारको सम्भावना यहाँ रहेको उनले बताए । तर, त्यसलाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेसवादी दलका नेताहरू लागेको आरोप उनले लगाए । ‘मधेस प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हँुदाहुँदै भ्रष्ट नेताहरूका कारण नेताहरू नै बदनाम भएका छन्’, साहले भने ।
भ्रष्ट नेताहरूको अन्त्य र आमजनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरूको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेताहरूलाई राज्यले कारबाही गर्न नसकेकाले अब जनताले नै जनकारबाही गनुपर्ने बताए ।
‘भ्रष्ट नेताहरू मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरू विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन्’, साहले भने, ‘भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वभिमानी युवाहरू अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कंगाल बन्दै गइरहेको छ । आमजनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरू उठनैपर्छ ।’
आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव उमेश कुशवाहा स्थायी कमिटी सदस्य विजय यादव निर्विज, आमविद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह लगायतको सहभागिता रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया