काठमाडौँ । नेपाली व्यावसायिक रक ब्यान्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ । भिडियोमा कविता नेपाली (गुरुङ¬) र धीरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धीरजलाई बक्सर प्रशिक्षकको रूपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा ब्यान्डका सदस्यहरूलाई पनि स्थान दिइएको छ ।
भिडियोमा ब्यान्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । ब्यान्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डिओपी जेनिस महर्जनले गरेका हुन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पिभिई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)को स्टुडियोमा छायांकन गरिएको हो ।
भिडियोमा गौरव विष्टको सम्पादन र रंग संयोजन तथा स्टिभ देवानका प्रोडक्सन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा मानिसहरूलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी संघर्ष गरिरहन प्रेरित गरेको छ ।
ब्यान्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गीतार) सदस्य छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पिभिई नेटवर्क)ले ब्यान्ड ‘एक्सिस’को व्यवस्थापन हेर्दै आएको छ । बिकेश कायस्थको नेतृत्वमा रहेको नेटवर्कमा सुमन महर्जन श्रेष्ठ र स्टिभ देवान सदस्य छन् । नेटवर्कले संगीतका ३ पुस्ताको कार्यक्रम आयोजना गरिसकेको छ । जसमा नेपथ्य, बालेन, पूर्ण राई एन्ड दाजुभाइ लगायतका ब्यान्ड पर्छन् ।
प्रतिक्रिया