काठमाडौँ । फिल्म ‘कगारु’मा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का भित्रिएकी छन् । निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गर्दै फिल्मका लागि अनुबन्ध गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरूको लानअप बलियो बनेको छ । कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् । फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागिएको हो ।
नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा हुनेछ ।
फिल्म ‘कगारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रूपमा छन् ।
फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मको लाइन प्रोड्युसरमा सविन ज्ञवाली (अस्ट्रेलिया) रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स युकेले पनि सहकार्य गरेको छ । फिल्ममा सीमा गुरुङको कथा रहेको छ । फिल्मका छायाकार सुशन प्रजापति हुन् ।
प्रतिक्रिया