हेटौँडा । म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् ।
भर्खर ११ वर्ष पुगेकी कवि अनसूया खनालले मन्चमा उक्लने बित्तिकै भनिन् । कविता लेख्न सिक्दै गरेको बताउने उनले त्यसपछि आफ्ना तीनवटा कविता सुनाइन् ।
बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता सुनाइरहँदा उनका कविता स्रोतालाई सिकारु जस्ता कहिल्यै लागेनन् । अझ आमा शीर्षकको कविता सुनाउँदै गर्दा दर्शक दीर्घामा छारीको कविता सुनिरहेकी आमा भावुक देखिन्थिन् । कवितामा अनसूया भन्दै थिइन् :
एक दिन म आमालाई खुसी नै खुसी दिनेछु
सुखै सुखको ताज पहिर्याइ दिनेछु ।
साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष गर्दै आइरहेको सन्ध्या दिवस अन्तरगत आइतबार हेटौंडामा तीन पुस्ताका चार कविका कविताहरु सुनाइएको थियो । नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि कविताको मन्चमा उक्लेकी प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता पाठ गरेकी थिइन् । समसामयिक विषयवस्तुसँगै लैङ्गिक समानताको वकालतगर्ने बुद्ध शीर्षकको कवितामा उनले भनिन् :
घर त्यागेर निस्कन सकेको भए ज्ञानकै खोजीमा,
डर त्यागेर निस्कन सकेको भए जीवनको खोजीमा
‘बुद्ध’ बन्न सक्थिन् यशोधरा पनि ।
यस्तै अर्का कवि सुवास खनालले भने वर्तमान शिक्षा पद्धतिप्रतिको व्यङ्ग्यबाट आफ्ना कविताको सुरुवात गरे । कलेज एक यातना शिविर शीर्षकको कविताबाट सुरु गरेका उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए । सानो छँदा बुबाको कविता चोरेर र आमाले गाएका लोक भाका सुनेर कविता लेख्न सिकेको बताउने खनालले आफ्नोपनलाई कायम राख्नुपर्ने दाबीगर्ने कविता वजनको वजनमा भने :
जब वजनको वजन खिइन्छ
जब गुणस्तर विभागले वजनलाई वजन मान्दैन
अनि, यो विक्रय हुन्छ कबाडीको मोलमा ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :
सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए । उनको अन्तराल शीर्षकको कवितामा उल्लेख थियो :
म सोचिरहेछु
समयको घाउ मान्छेले कसरी सहन सक्दोरहेछ !
हेटौँडाको रेड पान्डा रेष्टुरेन्टमा आयोजना भएको कार्यक्रममा आयोजक साहित्य सङ्गम मकवानपुरले सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको थियो ।
मकवानपुर
प्रतिक्रिया