थिन्ले ल्हामोले जितिन् महत्वपूर्ण अवार्ड

काठमाडौँ । विश्वप्रसिद्ध लोकार्नो फिल्मफेस्टिबलमा मीनबहादुर भाम निर्देशित नेपाली फिल्म ’शाम्बाला’ की मुख्य अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी छिन् । उनले फिल्ममा उत्कृष्ट अभिनयका लागि ’बोक्कलिनो डिओर’ अवार्ड जितेकी हुन् । शाम्बाला निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत अवार्ड पाएको जानकारी दिएको हो । कुनै पनि दक्षिण एसियाली कलाकारले पहिलोपटक यस किसिमको अवार्ड जितेको फिल्म निर्माण टिमको दाबी छ ।

’शाम्बाला फिल्मका मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौँ । दक्षिण एसियाली कलाकारले पहिलोपटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन्,’ विज्ञप्तिमा लेखिएको छ ।

यो अवार्ड थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्विटजरल्यान्डमा आयोजित ७७ औँ लोकार्नो फिल्म फेस्टिबलमा यो फिल्म देखाइएको थियो। यसअघि अरु विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ । ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिबलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो । यो फिल्म २८ भदौ अर्थात् १३ सेप्टेम्बरमा नेपाली हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया