पर्सा । प्रतीक दैनिकद्वारा स्थापित सुवोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार विमला गुप्तालाई प्रदान गरिने भएको छ । आइतबार आयोजित प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले गुप्तालाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सुवोध स्मृति पत्रकारिता पुरस्कार प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष फोटो पत्रकार सुवोध पौडेलको सम्झनामा प्रदान गरिन्छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । विमला गुप्ता संघर्षशील महिला पत्रकारका रुपमा परिचित छन् ।
उनले दशकौँअघि रेडियोबाट आफ्नो पत्रकारिता यात्रा प्रारम्भ गरेकी थिइन् । हाल उनी राष्ट्रियस्तरको पत्रिका ‘नागरिक दैनिक’ तथा आफ्नै अनलाइन पोर्टल ‘पर्सा अनलाइन’ सञ्चालन गर्दै समाजमा सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्याइरहेकी छन् ।
यस वर्षको पुरस्कार वितरण कार्यक्रम भदौ १ गते शनिबार आयोजना गरिने आयोजकले जनाएका छन् । सो अवसरमा स्तम्भकार कुमार रूपाखेती, संवाददाता धर्मेन्द्र चौरसिया र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई समेत पुरस्कृत गरिने निर्णय गरिएको छ ।
पर्सा
प्रतिक्रिया