बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारास्थित स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको छ ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले एक कार्यक्रमका बीच उक्त एम्बुलेन्स स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लाकै अति दुर्गम क्षेत्र भित्रपर्ने बर्दिवास नगरपालिका–१० र ११ नम्बर वडाका सुत्केरी महिलालाई निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामीलाई उपचारका लागि अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए ।
बर्दिवासका १४ वडा मध्ये दुर्गम पहाडी भेगका वडालाई प्राथमिकतामा राखेर नगरपालिकाले एम्बुलेन्स खरिदगरी हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए ।
ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजानु परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्य केन्द्रलाई क्रमशः एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको मुख्य लक्ष्य रहेको नगरप्रमुख क्षेत्रीको भनाइ छ ।
स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई उपचारका लागि बाहिर लैजान सहज हुने स्थानिय सामाजिक अभियन्ता पोशन थापाको भनाइ छ ।
बर्दिवास नगरपालिकाले २२ लाख रुपैयाँमा अग्नि कर्पोरेट कम्पनी काठमाडाँैसँग १ महिनाअघि खरिद गरेको एम्बुलेन्सको उपयोगबाट स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको बताइएको छ । वडामा एम्बुलेन्स सञ्चालनमा आएपछि वडाभित्रका नागरिकले सहज रूपमा सेवा पाउने कुरामा बिश्वस्त भएका छन् ।
बर्दिवास नगरपालिका–११ का निरनाथ गेलालले १० वर्षदेखि गाउँको स्वास्थ्य संस्थामा एम्बुलेन्स आउँछ भन्दै जनप्रतिनिधिहरूले आश्वासन दिए पनि नआएको तर अहिले नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले ल्याइदिएकोमा नगरपालिकाको टिमलाई धन्यवाद दिए ।
प्रतिक्रिया