जनयुद्धले दिएको उपहार

कालिकोट । सुनौलो समाज निर्माण गर्ने सपना साँचेर जिउको बाजी लगाउँदै परिवर्तनमा होमिएका युवालाई थाहा थिएन उनले सोचेजस्तो समय सधैँ रहँदैन भनेर । जिल्लाको खाँडाचक्र नगरपालिका–५ का विष्णुबहादुर हमाल (राकेश) २०५८ सालमा माओवादीमा सामेल भए ।

माओवादीको १० वर्षीय जनयुद्धका क्रममा उनले ज्यानको बाजी लगाएर परिवर्तनका लागि लडे । २०५८ मा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले ५ वर्षको जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचार शृंखलासहित प्रचण्डपथ संश्लेषण गर्यो ।

त्यसपछि २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्योसँगै माओवादीले युद्धविराम गर्यो । त्यही युद्धविरामकै क्रममा विष्णुबहादुर हमाल(राकेश) माओवादी भए । माओवादीको लडाकु सेनामा उनी पल्टन कमान्डर पदमा थिए । २०५९ माघ १५ गते दोस्रोपटक पार्टीले युद्धविराम गर्यो ।

त्यो बेला हमालको जिम्मेवारी पार्टीको सेनामै थियो । २०६० माघ ३ गते जुम्लाको कुडारीमा नेपाली सेना र माओवादी सेनाबीच भिडन्त हुँदा हमालले नेपाली सेनाको गोली लागेर दाइने खुट्टा गुमाए । त्यही बेलादेखि एक खुट्टाको साहारामा बाँचिरहेका हमालको अवस्था अहिले निकै सकसपूर्ण छ ।

कृतिम खुट्टाको सहारामा हिँड्डुल गर्ने हमालको आर्थिक अवस्था निकै कमजोर छ । घरपपिरवार पाल्न मुस्किल भएपछि हमालले खोले घट्ट चलाएर जीवन गुजारा गरिरहेका छन् । माओवादी कै कारण खुट्टा गुमाई अपांग भएका हमालले माओवादी पार्टीबाट सहयोग पाउने आश भने मारेका छैनन् ।


युद्धमा अंग गुमाएका उनको पार्टीबाट धेरै नेताले स्थानीय तहदेखि प्रदेश हुँदै प्रतिनिधिसभामा धेरैपटक प्रतिनिधित्व गरिसके । उनीसँगै युद्धमा होमिएका धेरैको जीवनशैली र आर्थिक अवस्था फेरियो । तर, उनको भने कुनै अवस्था फेरिएको छैन । तैपनि उनलाई पार्टी र आफ्ना नेताले केही गरी दिएलान् भन्ने आश भने मरेको छैन ।

पार्टीले भने उनले अपेक्षा गरेजस्तो कुनै सहयोग गरेको छैन । अझ निर्वाचन जितेर गएका सांसदहरूले उनलाई वास्ता नै नगरेपछि मन खिन्न भएको उनले सुनाए ।

गैरसरकारी संस्थाले दिएको कृतिम खुट्टाले सामान्य हिँडडुल गर्न सक्ने हमाल सहयोगकै आसमा विभिन्न ठाउँमा धाए पनि उनलाई सहयोग भने कसैले गरेनन् ।

व्यक्ति त परको कुरा हो पार्टीलेसमेत कुनै सहयोग नगरेको उनी बताउँछन् । नेपाल सरकारले दिने अपांग भत्ताबाहेक उनले कुनै किसिमको सेवा सुविधा नपाएको गुनासो गरे ।

आफ्नो परिवारलाई खर्चको जोहो गर्न सक्ने अवस्थामा हमाल छैनन् । एक छोरा, एक छोरीको पढाइ खर्चदेखि खानाको जोहो गर्न हमाल र हमालकी धर्मपत्नीलाई सकस छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया