अनलाइन जुवामा संलग्न व्यक्ति पक्राउ

काभ्रे । अनलाइनमार्फत जुवा खेलाउने १ जना पक्राउ परेका छन् । साउन १५ गते राति १० बजे, प्रहरीले विशेष सूचनाको आधारमा काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरमा रहेको शेषरमण न्यौपानेको घरमा डेरा गरी बस्ने जिल्ला पाँचखाल नगरपालिका–६ का ३० वर्षीय सुजन श्रेष्ठलाई अनलाइन क्यासिनो खेलाइरहेको अवस्थामा पक्राउ गरिएको छ ।
श्रेष्ठको कोठामा खानतलासी गर्दा ३ थान मोबाइल फोन फेला परेको छ । उक्त मोबाइल उनले अनलाइन क्यासिनो खेलाउन प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको छ ।

प्रारम्भिक अनुसन्धानमा, श्रेष्ठले म्यासेन्जरमार्फत विदेशमा रहेका नागरिकलाई गेम खेल्ने प्रस्ताव गर्ने, इच्छुक व्यक्तिहरूको एकाउन्ट बनाइदिने, र त्यसपछि क्यास ट्याग (QR कोड) पठाएर क्यास एपमा पैसा जम्मा गर्ने गरेको खुल्न आएको छ । खेलाडीहरूले क्यास एपमा पठाएको पैसा विभिन्न क्यासिनो गेमको एपहरूमा सिक्का राखिदिने गरिएको छ ।

श्रेष्ठलेMilky Way, Fire Kirin, Juwa, Vegas Sweeps, Game Vault, Orion जस्ता एपहरू प्रयोग गरी अनलाइन जुवा खेलाउने गरेको र क्यास एप भाडामा दिएर प्रतिशत लिने गरेको बयान दिएका छन् । उनलाई जुवा तथा सट्टाबाजी सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनाले अनलाइन जुवाको खतराको उजागर गर्दै समाजमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । अनलाइन जुवामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रयास जारी रहेको बताइएको छ ।

प्रतिक्रिया