मुगु । कोरोना महामारीको समयदेखि बन्द भएको मुगु–चिन हाटबजार मेला यो वर्ष चल्ने भएको छ ।
मुगु जिल्लास्थित नेपाल–चीन सिमाना नाग्चेलाग्नादेखि नजिकै रहेको चीनको ह्यजिमार क्षेत्रमा पाँच वर्षपछि नेपाल–चीन हाटबजार लाग्ने भएको हो ।
परापूर्वकालदेखि यस क्षेत्रमा अस्थायीरुपमा नेपाल र चीनका जनतालाई आवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाटबजार लगाएर किनबेच गर्दै आएको भए पनि कोरोनाको समययता हाटबजार लाग्न बन्द भएको थियो ।
अस्थायी नाका खोल्न र हाटबजार नियमित गर्न चिनिया दुतावास र नेपालको परराष्ट्र मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधी, राजनैतिक दलका अगुवाहरुले पहल गरे पनि नाका खोलिएको थिएन ।
नाका पर्ने मुगम कार्मारोङ गाउँपालिकाले ह्याजिमार क्षेत्र रहेको चिनको स्थानीय प्रमुखहरुसँग बारम्बार सम्पर्क र पहलपछि यो वर्षको अगस्ट १ देखि १५ तारिखसम्म (साउन १७ देखि ३१ गतेसम्म) नाका खोल्न लागेको र विगत झैँ चीनको ह्यजिमारमा १५ दिनसम्म हाटबजार लाग्ने मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले बताए ।
हाटबजारमा मुगालीहरु काठका लट्ठी, चुलिका सिम्रा, यार्सागुम्बा, नेपाली जुत्ता, जडिबुटी बिक्री गर्दछन् भने चाइनिजहरु सिमेण्ट, जस्तापाता, घ्यु, भेडा, चामल, छुर्पी, चिया, लत्ताकपडा बिक्री गर्ने गर्दछन् । चीनतर्फ सीमासम्मै सडक पुगेकाले ट्रकमा बिक्री गर्ने सामानहरु चिनिया व्यापारीहरु ल्याउँछन् । ह्याजिमारमा चीनले ठूलो गोदाम घर बनाएको छ ।
चिनिया व्यापारी, स्थानीयहरु आफूले बिक्री गर्न ल्याएका सामान र नेपालीबाट किनेका सामान त्यही गोदाममा राख्ने गर्दछन् । तर नेपालतिर सडक र यातायातका साधन नहुँदा स्थानीय र व्यापारीहरु घोडा, खच्चर, चौँरीलाई व्यापार गर्ने सामान बोकाएर लैजान्छन् । किनेका सामानहरु पनि तिनै घोडा, खच्चर, चौँरी र आफैले बोकेर घरसम्म ल्याउने गरेका छन् । मुगुम कार्मारोङ गाउँपालिका– १ का वडाध्यक्ष च्यावा लामा बताउँछन् ।
सस्तो र नजिकै दैनिक उपभोग्यलगायत घरायसी सामानहरु किनिरहेका मुगुवासी पाँच वर्षसम्म नाका नखोल्दा भारत तथा नेपालका विभिन्न शहरहरुबाट महंगो र टाढाबाट आवश्यक सामान किन्न बाध्य थिए । यो नाका साउनको तेर्सो साताबाट १५ देखि २५ दिनसम्म खुल्दै आएको छ । अब बर्सेनि नाका खुल्ला राख्न नेपाल सरकारले कुटनैतिक पहल गर्नुपर्ने र नाकासम्मै सडक पुर्याउन तथा भन्सार पूर्वाधार बनाउन स्थानीयहरुले माग गरेका छन् ।
मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्ना नाकासम्म ८७ किलोमिटर सडक दुरी रहे पनि अहिलेसम्म नेपाल सरकारले १७ किलोमिटर सडक मात्र ट्र्याक खोलेको छ । पहिला सजिलै चीनको ह्यजिमारसम्म हाटबजार लाग्दा मुगालीहरु जान पाउने भए पनि अहिले चीन प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश पास अनिवार्य चाहिने भएको छ ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर स्थानीयहरुलाई कसरी सहजरुपमा चीन प्रवेश पास दिन सकिन्छ भनेर छलफल गरिरहेको, सम्भवत आजै (बुधबार) प्रवेश पास वितरणको लागि सूचना जारी गर्ने र शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयले पास वितरण सुरु गर्ने जानकारी दिएको मुगम कार्मारोङ गाउपालिकाका सूचना तथा प्रविधी अधिकृत सोवेन्द्रबहादुर मल्लले जानकारी दिए ।
गाउँपालिकाको जानकारी अनुसार मुगुको नाक्चेलाग्ना र डोल्पाको मायुम्ला नाका अगष्ट १ बाट १५ दिनका लागि खोल्ने, प्रवेश पास र सुरक्षा व्यवस्थाको लागि अनुरोध भई आएकाले चीनको हाटबजारमा जाने नेपालीहरुका लागि प्रवेश पास तयार गरिसकेको र हाटबजार अवधिभर नेपालतर्फ नेपालीलाई सुरक्षाको प्रत्याभुती दिलाउन सुरक्षा व्यवस्था कडाई पारिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।
उनले भने, ‘चीन प्रवेशका लागि डिजिटल प्रवेश पास उपलब्ध गराउनुपर्ने भए पनि अध्यागमनको टोली डिभाइस लिएर मुगु आउन सम्भव नभएपछि जिल्ला प्रशासनले जारी गरेको कागजी प्रवेश पास भए पनि चीन प्रवेश गर्न दिने चिनियाँ पक्षको बचनपछि नेपालीलाई कागजी पास जारी गरिएको छ ।’ उनका अनुसार चीन प्रवेशका लागि जारी गरिएको प्रवेश पास मुगुका स्थानीयहरुले आफ्नो मुगु जिल्ला स्थायी ठेगाना भएको नागरिकता देखाएपछि प्राप्त गर्न सक्ने छन् ।
नाग्चेलाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो । मुगुसहित चिनसँग जोडिएका नेपालका १४ नाकाहरुलाई नेपाल र चीनले परम्परागत नाका भन्ने गर्दछन् । पाँच वर्षदेखि बन्द भएका यी नाका खोल्न गत वर्ष असोजमा चीन भ्रमणमा जाँदा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लगत्तै चीन पुगेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परम्परागत नाका खोल्न गरेको आग्रहपछि चीनले गरेको प्रतिबद्धता अनुसार यो बेला परम्परागत नाकाहरु क्रमशः खोलिरहेका छन् । नेपाल–चीन सीमा स्तम्भमध्ये १३ नम्बर पिल्लर मुगु जिल्लाको नाग्चेलाग्ना नाकामा पर्दछ ।
मुगु
प्रतिक्रिया