रोपाइँमा ढिलो नगर्न कृषि अर्थविज्ञको सुझाव

मधेस ब्युरो । असार सकिँदासम्म पनि मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको हो । धान उत्पादनको मुख्य केन्द्र नै रहेको मधेसमा सबैभन्दा कम रोपाइँ हुनु चिन्ताको विषय रहेको कृषिविद्हरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र रौतहटका कृषि अर्थविज्ञ विप्लवकुमार गुप्ता जति ढिलो रोपाइँ गर्यो, त्यसरी नै उत्पादन कम हुने ता रोग कीराको प्रकोप बढ्ने बताउँछन् । गत वर्ष पनि असार मसान्तसम्म रौतहटमा ४० प्रतिशत रोपाइँ भएको थियो । यसपटक समयमा वर्षा भएकोले असार मसान्तसम्म करिब ६० प्रतिशत धानको रोपाइँ भएको अनुमान गरिएको छ ।

गत वर्ष रौतहटमा ३५ हजार ५३० हेक्टर जमिनमा धानको रोपाइँ भएको थियो । यस वर्ष करिब ३८ हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा रौतहटमा चैते धानखेतीमा पनि वृद्धि भएको छ । गत वर्षको तुलनामा रौतहटमा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि अर्थविज्ञ गुप्ताको भनाइ छ ।

रौतहटमा यस वर्ष चैते धानको उत्पादन करिब ७ हजार ५०० मेट्रिक टनको भएको अनुमान गरिएको छ । अर्थविज्ञ गुप्ताले अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग नगर्न किसानहरूलाई सुझाव दिएका छन् । उनले भने, ‘अत्यधिक रासायनिक मलको प्रयोगले बाली, माटो र वातावरण सबैलाई नोक्सान पु¥याउँछ, कृषि लागत बढ्छ ।’

रोपाइँ सकिएपछि खेतमा सधैँ पानी भरिराख्नुभन्दा पानी तर्काउनुपर्छ जसले गाज वृद्धिमा मद्दत गर्दछ र उत्पादन बढ्ने, अर्थविज्ञ गुप्ताको भनाइ छ । सिँचाइको सुविधा भएको ठाउँमा पनि रोपाइँ सकिएको छैन । पानीको सुविधा भएको ठाउँमा किसानहरूले धमाधम खेती गरिरहेका छन् । रोपाइँ गर्न पनि समस्या भएकोले केही ढिलो हुन गएको हो ।

खेतमा बेर्ना तयार छ तर रोपाहार पाउन कठिन छ । कतै कतै महिलाले नै ब्याडमा बिउ काढ्ने र रोपाइँ गर्ने काम पनि गरिरहेका छन् । धमाधम रोपाइँ भइरहेकोले साउन महिनाको पहिलो हप्तासम्म मुख्य रोपाइँ सकिने विश्वास किसानको छ । कटहरियाका एक कृषकले भने, ‘अबको एक हप्तामा रोपाइँ सकिन्छ होला ।’

वर्षा रोकिने हो भने धानको रोपाइँमा पनि केही ढिलो हुने सम्भावना रहन्छ । पानी नपर्ने हो भने रोपाइँमा १ हप्ता ढिलो हुन सक्ने उनी बताउँछन् । सबै किसानको पहुँचमा सिँचाइ सुविधा नपुगेकोले विद्युतीय सिँचाइको व्यवस्था गर्न किसानहरूले माग गर्दै आएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया