मधेस ब्युरो । अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीको पानी कजबेमाथि भएर बग्न थालेपछि रौतहटको कटहरिया गम्हरिया सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बिहीबार बिहान परेको मुसलधारे वर्षाले लालबकैया नदीमा आएको बाढीले कटहरिया गम्हरिया घाट पुलछेउको बाटोमा निर्माण गरिएको कजबे पूर्ण रूपमा डुबानमा परेका कारण आवागमन ठप्प भएको हो ।
कटहरिया गम्हरिया सडकखण्डको लालबकैया नदीको पुलभन्दा करिब सय मिटर पश्चिमपट्टि मुख्य बाटोमै लामो कजबे निर्माण गरिएको छ । लालबकैया नदीमा आएको बाढीको पानी सो कजबेमाथि नै भएर बग्न थालेपछि सो बाटो अहिले अवरुद्ध भएको छ ।
कजबेमाथि भएर बाढीको पानी ३ फिटभन्दा माथि बगेका कारण यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । कटहरिया नगरपालिका–४ लालबकैया नदीमा निर्माणाधीन पुलको बाटोमा रहेको उक्त कजबे डुबानमा पर्दा सो सडकखण्ड अवरुद्ध रहेको छ ।
कटहरिया आसपासका दर्जन बढी गाउँका मानिस कलैया वीरगञ्जसम्म जाने पुलकै बाटो प्रयोग गर्दै आएका छन् । हाल उक्त बाटो सडक डिभिजन कार्यालय रौतहटको चरम लापरबाहीका कारण पुल बनाउनुपर्ने ठाउँमा कजबे निर्माण भएपछि स्थानियलाई सास्ती भएको छ । बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौँ मानिसलाई कलैया वीरगञ्ज आउजाउ गर्न १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको स्थानीय राकेश दासले बताए ।
सरकारले कजबे बनाएको सो ठाउँमा पुलको आवश्यकता छ तर पुल बनाउनुपर्ने ठाउँमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले कजबे बनाएपछि प्रत्येक वर्ष लालबकैया नदीमा आउने बाढीको पानीले सो कजबे डुबानमा पर्ने गरेको छ जसका कारण प्रत्येक वर्ष बर्खायाममा सो सडक अवरुद्ध हुने गरेको छ ।
सडक डिभिजनले हरेक वर्ष प्राथमिकतामा पार्ने गरेको छ तर समस्या जहाँको त्यही छ । यस वर्ष पनि सो ठाउँमा कजवे निर्माण भएको थियो ।
बाढीको पानीले सडक अवरुद्ध हुँदा सो भेगका हजाराैँ मानिसले बाटोको समस्या झेल्दै आएका छन् । सो कजबे प्रत्येक वर्ष डुबानमा पर्दै आएको र स्थानीयहरूलाई आवतजावत गर्न ठुलो समस्या हुँदै आए पनि समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो लिएको छैन ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापरबाहीका कारण प्रत्येक वर्ष वर्षात्को समयमा आफूहरू बाटोको समस्या झेल्दै आएको स्थानीयहरू बताउँछन् । पुल बनाउनुपर्ने ठाउँमा डिभिजन कार्यालयले कजबे बनाएका कारण अहिले बाढीको पानी सो कजबेमाथि भएर नै बग्न थालेपछि सडक अवरुद्ध हुन पुगेको कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुश्वाहाले बताए ।
कजबेमाथि बाढीको पानी बग्न थाल्दा सरकारको लगानी बालुवामा पानी हाले झँै भएको उनले बताए । सो ठाउँँमा पुल बनाएपछि मात्र यो समस्या समाधान हुने साहले बताए । साहजस्तै अन्य स्थानीयहरूले पनि उक्त सडक खण्डमा निर्माण गरिएको कजबेको ठाउँमा पुल बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
यस विषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी ई.शिवनारायण प्रसाद साहसँग सोध्दा पुल निर्माणको अधिकार हामीलाई नरहेको भन्दै यसको लागि केन्द्रमा पहल गर्नुपर्ने बताए । कार्यालयले कजवे र कल्भर्ट निर्माण गर्ने भएकोले हामीले गरिरहेका थियौँ । तर बजेट अभावका कारण त्यो पनि काम हुन नसकेको बताए । एउटा पुल भएको ठाउँमा अर्काे पुल कुनै पनि हालतमा नबन्ने उनी बताउँछन् । तर, उक्त ठाउँमा अहिले पुल बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया