मधेश ब्युरो । मधेस प्रदेशमा चालु आर्थिक वर्षमा ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च भई ४४ दशमलव २५ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षका लागि मधेस प्रदेश सरकारले ल्याएको ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमध्ये सरकारले २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
हरेक वर्ष मधेस प्रदेश सरकारले आधा बजेटको हाराहारीमा फ्रिज गर्दै आएको छ । चालु आर्थिक वर्षमा चालु र पुँजीगत दुवैतर्फ सरकारले खर्च नसकेको देखिएको छ । चालु आवको लागि चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैया विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी पुँजीगततर्फ सरकारले विनियोजन गरेको २५ अर्ब ५७ करोड ५७ लाख रुपैयाँमध्ये सरकारले १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
मधेस प्रदेश सरकारको खर्च प्रणाली निकै कमजोर भएको बजेट फ्रिज भएको अवस्थाले देखाएको टिप्पणी भइरहेको छ । गत वर्ष पनि मधेस प्रदेश सरकारको ४२ दशमलव ५८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा आधा जति बजेट फ्रिज भएको थियो ।
उपभोक्ता समितिमार्फत ढलान र निर्माणमा बढी बजेट खर्च गर्ने गरेको आरोप मधेस प्रदेश सरकारमाथि लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा सरकारको परिवर्तन तथा राजनीतिक अस्थिरताले बजेट फ्रिज बढी हुन पुगेको राजनीतिकर्मीहरूको भनाइ छ ।
केन्द्रमा जुनसुकै दलको सरकार बने पनि मधेस प्रदेशमा जसपा नेपालको मात्र सरकार रहने गरेकोमा पछिल्लोपटक जनमत पार्टीको नेतृत्वमा सरकार बनेको छ । जनमतकै नेतृत्वमा पनि गठबन्धनको फेरबदल र आपसी खिचातानीमा फसेको प्रदेश सरकारले आर्थिक वर्ष बित्न लाग्दा पनि अपेक्षाअनुसार खर्च गर्न सकेन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया