योजनाको कार्यान्वयन नहुँदा भू–क्षयको जोखिम

राजविराज । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक योजनाले वर्षाैंदेखि सडक भत्काएर छोड्दा भू–क्षयको जोखिम बढेको छ । लामो समयदेखि सडक भत्काएर अलपत्र अवस्थामा छोड्दा भू–क्षय भई सडक आसपासका घरहरू भासिने उच्च जोखिम बढेको हो ।

सडक निर्माणको क्रममा राजमार्ग क्षेत्रमा खनेर वर्र्षाैंवर्षसम्म बेवारिसे अवस्थामा छोड्दा वर्षायाममा आउने बाढीले सडक आसपासका घरहरूमा कटान गर्दा भासिने खतरा बढेको पीडितहरू बताउँछन् ।
घर अगाडि सडक खनेर छोड्दा बाढीले कटान सुरु गर्दा घर भासिने जोखिम बढेको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ का रत्नबहादुर तामाङले बताए । आफ्नो समस्याबारे सडक आयोजनाका प्रतिनिधिहरूलाई पटकपटक जानकारी गराउँदासमेत सुनुवाइ नभएको उनले गुनासो गरे ।

उनका अनुसार सडक खनेर छोडेको वर्षौं भयो, बाढीले कटान गरेर शौचालय भत्काइसक्यो भने पानीले कटान गर्दा घरमुनिबाट पानीको भल बग्न थालिसकेकोले कटानको समस्या पनि उत्तिकै रहँदासमेत ध्यान नदिएको गुनासो छ । सडक योजनाको लापरबाहीको कारण सयौँ व्यक्तिले यस्ता समस्याको सामना गरिएको स्थानीयहरू बताउँछन् ।

सडक निर्माणको क्रममा ढल निकासका लागि निर्माण गरिएको नालाहरू पुरिएर पानीको निकास ठप्प हुंँदा घरभित्र बाढी बग्ने गरेको पीडितहरू बताउँछन् । सडक निर्माण कार्यले पानीको निकास रोकिँदा वर्षायाममा बाढी घरभित्र पसेर ठूलो समस्या खेप्नुपरेको सडक आयोजना पीडितहरूको दुःखेसो छ ।

पानीको वैकल्पिक निकासबिनै वर्षौंदेखि सडक खनेर अलपत्र अवस्थामा राख्दा सडक आसपासका बासिन्दा बढी मर्कामा परेको रुपनी गाउँपालिका–६ का कुमारमान श्रेष्ठले बताए । निर्माण कार्यले तीव्रता नलिँदा हिउँदमा धुलो र वर्षामा बाढी तथा हिलोको मार खेप्नुपरेको उनले बताए ।

निर्माण कम्पनी र प्राविधिक पक्ष हेर्ने इन्जिनियरको हिसाबकिताबमा कुरा नमिल्दा सडक निर्माण कार्यले गति नलिँदा आफूहरू यसको मारमा परेको पीडितहरूको कथन छ । सडक निर्माणको कार्य ४ वर्ष अगाडिदेखि सुरु गरिए पनि करिब ४ महिना मात्र समयअवधि बाँकी रहँदा अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
कन्चनपुर–कमला सडक योजनाको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ कनसल्टेसिङ प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन ( बंगलादेश) र एसोसिएसन विट प्रालि. नेपाल रहेको छ ।

सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि सुरु भई २०२३ अक्टोबर २८ सम्म सक्नुपर्ने भए पनि समयमा काम सम्पन्न नभएपछि पुनः १४ महिना म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
वर्षा हुनासाथ निर्माण कार्य ठप्प पारिने गरिएकोले सडक योजनाको काम अझै वर्षौंवर्ष लाग्न सक्ने आयोजना पीडितहरूले जानकारी दिए ।

प्रतिक्रिया