पूर्ण बजेट भुक्तानी नहुँदा उपभोक्ता मर्कामा

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसीबाबा कुट्टी र सरोवर छेउमै श्मशान घाट निमार्णका लागि तोकिएको बजेट भुक्तानी नहुँदा उपभोक्ता समिति समस्यामा परेको गुनासो गरेका छन् ।

सो क्षेत्रमा शवको अन्तिम संस्कार गर्न समस्या भइरहेको र खासगरी दलित विपन्नलाई त यसले पीडा नै खेप्नु परिरहेको अवस्थापछि समाजसेवी गंगाराम यादवले आफ्नो निजी लगानीमा जमिन्दार सत्यनारायण सिंह राजपुतबाट ६ कठ्ठा जमिन सो श्मशान घाटका लागि जमिन किनेर दान गरेका थिए । त्यसपछि सरकारी लगानीमै घेराबेराको काम पनि भइसकेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयमार्फत सो श्मशानमा घामपानीबाट बच्न पक्की छत सहितको संरचना निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको थियो । अध्यक्ष रामवरण पण्डित कुम्हार र कोषाध्यक्ष कमलीदेवी महरा नेतृत्वको उपभोक्ता समितिले निर्माण कार्य पनि मापदण्डअनुसार सबै सम्पन्न गरे पनि मात्र १० लाख भुक्तानी हुँदा उनीहरू मर्कामा परेका छन् ।

‘शमशान घाटको काम हामीले इमानदारीपूर्वक ग¥यौँ, सबै काम मापदण्डभन्दा पनि गुणस्तरीय भएको छ, तैपनि आधा बजेट मात्र भुक्तानी भयो, हामी अब कहाँबाट बक्यौता पाउने ?’ समितिका अध्यक्ष पण्डितले दुःखेसो पोखे । सुरुमा जस्तासहितको ठूलो संरचना थियो तर पछि प्राविधिकहरूले पक्की छत ढलान सहितकै १६ मिटर लामो र ४ मिटर चौडाइको संरचना बनाउन दिएको सुझावअनुसार ढलानसमेत सम्पन्न भएर जमिनको माटो मिलाउने काम मात्र बाँकी रहे पनि २० लाख बजेटमा मात्र १० लाख भुक्तानी भएको समितिकी कोषाध्यक्ष महराले सुनाइन ।

प्रतिक्रिया