कोशी प्रदेशको ३५ अर्ब २७ करोड बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४ (१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गरेका हुन् ।

सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये संघीय अनुदान फिर्ता ३ अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ करोड ९४ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट ७८ करोड १ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया