काठमाडौँ । उद्योग वाणिज्य महासंघले बजेट स्वागतयोग्य भएको प्रतिक्रिया दिएको छ । महासंघको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिएका छन् । महासंघले विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए ।
‘महासंघले प्रवद्र्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवद्र्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवद्र्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवद्र्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्’, उनले भने, ‘महासंघको माग अनुसार नै निजी क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।’
बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनले बताए ।
त्यस्तै, चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेश्वर अग्रवालले पनि बजेट सकारात्मक भएको बताएका छन् । उनले बजेट विकासमा रूपान्तरण हुने किसिमको भएको र नयाँ बजेटमा राजस्वको लक्ष्य यथार्थपरक रहेको बताए । साथै, स्रोत व्यवस्थापनमा समस्या हुने हुँदा सरकारले पुँजीगत खर्च गर्ने काम गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेट मध्यपन्थी भएको बताएका छन् । बजेट भाषणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट गैरजिम्मेवार नभई सन्तुलित भएको बताए । ‘बजेट मध्यपन्थी छ । जुन बजारमा आकार ह्वात्तै बढ्ला भन्ने थियो, त्यसमा सम्हालिएको छ, तर गैरजिम्मेवार छैन, सन्तुलित छ’, उनले भने ।
वाग्लेले बजेटको आकार भने ठुलो बनाएको बताएका छन् । १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य राखिएकामा १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा धेरै रकम ऋण लिने उद्देश्य राखिएको उनको भनाइ छ । उनले भनेका छन्, ‘यसलाई अर्थमन्त्रीले भनेजस्तो योजना बनाएर दसैँअघि नै कार्यान्वयनमा जान सक्ने र पुरानो रोग चिर्न सक्नुभयो भने कार्यान्वयनमा जाने आधार छ ।’
उता, नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताएका छन् । उनले भने, ‘करका कस्ता–कस्ता प्रावधान छन्, के–के ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रूपमा हेरिसकेपछि निष्कर्षमा पुग्न सकिन्छ । तर, समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरूले प्राथमिकताको कुरा गर्नुभएको छैन ।’
उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरू नरहेको बताए । उनले आफ्ना समर्थकहरूको ठाउँमा सरकारले बजेट यथेष्ट विजियोजन गरेको बताए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताए ।
‘अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने, यी कुनै पनि कुरा गर्नुभएको छैन । सायद उहाँहरूले आफ्ना समर्थकहरूको ठाउँमा बजेट यथेष्ट विजियोजन गर्नुभएको छ । धेरै पुराना आयोजना अलपत्र हुनेवाला छन् ।’ सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाए ।
बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुन सक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताएका छन् । सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरूको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उनले बताए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परम्पराको निरन्तरताका रूपमा एक थान बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘बजेटले निराशामा परेका जनतालाई आशा जगाउन सक्दैन । धेरैलाई चित्त बुझाउनका लागि अंक बढाएर ल्याइएको छ । नयाँ कार्यक्रम पनि छैन ।’
प्रतिक्रिया