संसद गतिरोध अन्त्यका लागि बालुवाटारमा शीर्ष दल र कार्यदलको बैठक

काठमाडौं । संसद बैठकको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष दल र कार्यदलको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा केही बेरअघि सुरू भएको हो । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरेका छन् ।

उक्त छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

आगामी मंगलबार संघीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री दाहालले सहमतिको प्रयास जारी राखेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लामो समयदेखि संघीय संसदको दुवै सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया