सभामुखको निर्देशनपछि कांग्रेसमाथि खनिनबाट हच्किए स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्ले सभामुख देवराज घिमिरेको निर्देशनपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि खनिनबाट हच्किएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा रोष्ट्रममा गएर सुरुमै कांग्रेसलाई लक्षित गर्दै बोल्न थालेका वाग्ले हच्किएका हुन् ।

बैठकको सुरुवातमै प्रतिपक्ष दल कांग्रेसले नाराबाजी गरिरहेको थियो । अवरोधकै बिच बैठक चलिरहेको अवस्थामा सभामुख घिमिरेले उनलाई बोल्ने समय दिएका थिए । बेल्ने क्रममा सांसद वाग्लेले बीपी कोइरालालाई आफूले आदर्श गुरु मानेको र कांग्रेसले अहिले आदर्श गुरुको मूल्यांकन नगरेको भन्दै आक्रोश पोख्न थालेका थिए ।

तर सभामुखले विषयमा केन्द्रित रहेर आफ्नो भनाई राख्न निर्देशन दिएपछि सांसद वाग्ले हच्किएर आफ्ना धारणा राखेका हुन् । सांसद स्वर्णिम वाग्ले एक नेपाली राजनीतिज्ञ, पेशाले अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन् । वाग्ले हालै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

वाग्लेले ५–६ वर्षअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा काम गरेका थिए । नेपाली कांग्रेसको दशकौँसम्म सदस्य रहेका वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको हातबाट ‘अपमान’ भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

तनहुँ १ को उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । तनहुँ– १ मा भएको उपनिर्वाचनमा वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ८७ मतले पराजित गर्दै ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया