पौडी खेल्ने क्रममा ५ जनाको मृत्यु

काठमाडौँ । पौडी खेल्ने क्रममा छुट्टछुट्टै स्थानमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नुवाकोटमा २, जनकपुरमा २ र रुपन्देहीमा १ जनाको शनिबार मृत्यु भएको हो ।

नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको हो । बेलकोटगढी नगरपालिका–१० स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार डुबेर बेहोस भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तादी खोलामा पौडी खेल्न गएका ६ जनामध्ये मृत्यु भएका २ युवकलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयबासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो ।

यस्तै, जनकपुरमा पनि पोखरीमा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिबार बिहान सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन हिँडेका दुवै जना केहीबेरमै डुबेका थिए ।

स्थानीयले दुवैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउँदा बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित तिनाउ नदीमा डुबेर १ जनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा बनेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिव्यांश भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्न जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।

प्रतिक्रिया