संसदीय समितिमा गृहमन्त्री जोडिएका सहकारीको नाम राख्न कांग्रेसको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीको नाम राख्न नयाँ प्रस्ताव अघि सारेको छ ।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलको बैठक आज कांग्रेसले सो नयाँ प्रस्ताव अघि सारेको बताइएकोे छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजबिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थप लचक भएको प्रमुख सचेतक बर्तौलाको भनाई छ ।

‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔँ भन्ने ढंगको प्रस्ताव आएको छ,’ बर्तौलाले भने, ‘रवि माननीयज्यू जोडिएको सहकारीको कुरा के हो भन्ने छानबिन गर्नका लागि नयाँ प्रस्ताव आएको छ, यस्तै परे उता सदन चल्दैगर्दा हामी यता छलफलमा बस्न सक्छौँ ।’

बर्तौलाले सहमितका लागि अन्य अभ्यास अघि बढाइएको पनि बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको समेत संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया