काठमाडौँ । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठक बोलाइएको छ । विशेष गरी नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नको जबाफका लागि आजको बैठक बोलाइएको हो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको असन्तुष्टि झन् चुलिएकाले आजको बैठक सहज सञ्चालन हुनेमा आशंका देखिएको छ ।
सहकारीको रकम हिनामिना र अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा कांग्रेससहितका विपक्षी दलहरूको अडान कायमै रहेकाले आजको बैठक पनि अवरुद्ध हुने देखिन्छ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिहीबार पनि निष्कर्षविहीन भएसँगै संसद्को अवरोधले निरन्तरता पाउने देखिएको हो ।
बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति जुट्न नसकेपछि आज बिहान ८ः३० बजेका लागि फेरि अर्को बैठक बोलाइएको छ । सत्ता पक्ष रकम अपचलन भएका सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाम राख्ने विषयमा असहमति जनाउँदै आएको छ भने प्रतिपक्षी भने लामिछानेको नाम नै किटान गर्नुपर्ने अडानमा छ ।
एमाले सांसद महेश बर्तौला सहकारीको नाम उल्लेख गर्ने, तर गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी सहमति जुटाउने प्रयास भइरहेको बताउँछन् । उनले यस विषयमा कांग्रेस लचक भएको र शीर्ष नेताहरूसँग छलफल गरेर शुक्रबार पुनः छलफल गर्ने सहमति भएको बताए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संसदीय समितिको टिओआर निर्माण समितिका सदस्य रहेका रास्वपाका सांसद शिशिर खनालले कांग्रेसलाई आफूहरूले गृहमन्त्रीको नाम नराखी कार्यादेश बनाउन अनुरोध गरेको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै राखेको कुरा व्यक्तिको नाम नतोकौँ भनेर भनिरहेका छौँ, नेपाली कांग्रेसले आफ्नो अडान छाडेको छैन । प्रतिपक्षले सदनमा प्रश्न उठाइसकेपछि समिति बनाउने र छानबिन गर्ने कुरा त हुने नै भयो । तर, नाम तोकेर नजाऔँ भनेर अनुरोध गर्दा उहाँहरू सकारात्मक हुनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।
उता, कार्यदलमा रहेका कांग्रेस सांसद जीवन परियारले भने गृहमन्त्रीको नाम नराखीकन पनि छानबिनको दायरा फराकिलो बनाउन सकिने भन्ने प्रस्ताव सत्ता पक्षले गरेको, तर आफूहरूले त्यसरी गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने कुरा राखेको बताए ।
बर्तौलाले त आज सहमतिमा हस्ताक्षर भएकै पत्र सार्वजनिक गर्ने समेत दाबी गरेका छन् । तर, कांग्रेसको अडानले आज त्यसको सम्भावना न्यून देखिन्छ । कांग्रेसका सह–महामन्त्रीसमेत रहेका परियारले गृहमन्त्री लामिछानेको नाम नराखेसम्म सदन अवरोध जारी रहने बताएका छन् ।
‘गृहमन्त्री बहालमा रहँदा उनीमाथि लागेको आरोपबारे आवश्यक छानबिन हुन सक्दैन भन्ने हाम्रो बुझाइ छ । तर, जसका बारेमा हामीले माग उठाएका छौँ । त्यहाँसम्म नपुगेसम्म हाम्रो अडान कायमै रहन्छ,’ उनले भने ।
प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।
सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधिसभामा जम्मा दुइवटा संशोधनको सूचना दर्ता भएको छ ।
संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेका छन् । नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा १ घन्टा अगावै नाम टिपाउन भनिएको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुनेछ ।
प्रतिक्रिया