धरानका आशिष पोखरेल अमेरिकी संसद्को उम्मेदवार

विराटनगर । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । १४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोखरेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् । उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।


उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरु उत्साहित भएका छन् भने उनका एजेण्डाका कारण अमेरिकीहरुले पनि मन पराएका छन् । पोखरेलले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन । उनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।


पोखरेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता हुन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा विजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए । आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोखरेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन ।

को हुन् आशिष पोखरेल ?

बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा उनको जन्म भएको थियो । उनको बाल्यकाल सुनसरीमै बित्यो । धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिएका उनले उच्च शिक्षा भने काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।

त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा विजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे । त्यस्तै अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे ।

अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्रका ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर १२ वर्ष काम गरे,जहाँबाट उनले कप्तान पदबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया