उत्खनन् पर्खाइमा २ हजार ६०० वर्ष पुरानो मन्दिर

बरहथवा । धार्मिक पर्यटनको प्रसस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन् र अनुसन्धानको पर्खाइमा रहेको छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा गुमनाम बनेको हो । २ हजार ६०० वर्ष पुरानोे इतिहास बोकेको मन्दिर बजेट अभावले संरक्षणमासमेत चुनौती थपिएको छ । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर अलपत्र बनेको हो ।

पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दुरीमा रहेको यस मन्दिर निकै पुरानो रहेको स्थानीयले बताउने गरेका छन् । यस मन्दिरमा दैवीशक्ति रहेको स्थानीय बिमला कार्कीको भनाइ छ । विशेष गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गरेको छ । उक्त समयमा मन्दिर दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन आइपुग्ने गरेका छन् ।
ऐतिहासिक मुक्तेश्वर मन्दिर लगभग २ हजार ६०० वर्ष पुरानो भएको वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए । विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार २ हजार ६०० वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्दिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिरसमेत ध्वस्त बनाइदिएको स्थानीय जानकारको भनाइ छ ।

बरहथवा नगरपालिका–९ का स्थानीय ८२ वर्षीय चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारत वर्षको व्यापारिक केन्द्र सुवर्णग्राम सहरको रूपमा रहेको कौटिल्य अर्थशास्त्रमा उल्लेख रहेको दाबी गरे । गयासुद्दिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जंगलमा परिणत भएको उनको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीयको भनाइ छ ।

मन्दिर परिसरमा रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुंगामा २ हजार ६०० वर्ष पुरानो बोलीचालीको भाषाको ब्रह्मलिपि फेला परेको हो । पुरातत्व विभागका योजना शाखाप्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन् तथा पुनःनिर्माणका क्रममा ढुंगाको ब्लकमा ब्रह्मलिपि अर्थात् पाली भाषामा कुँदिएको सामग्री फेला परेको थियो ।

‘मन्दिर बनाउन प्रयोग गरेको ढुंगामा पाली भाषामा लेखिएको भेटियो ।’ वडाध्यक्ष लुइँटेलले भने, ‘काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलिचालीको भाषा नै ढुंगामा कुँदेको हुनुपर्छ । यसले पनि यो मन्दिर ऐतिहासिक हो, भन्ने पुष्टि गरेको छ ।’

यस क्षेत्रमा ४ फिट गहिरो खन्ने बित्तिकै ८–८, ११÷११, १२÷१२ साइजका बुद्धकालीन इँटाले लेआउट गरेको फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताए ।

प्रतिक्रिया