सत्य निरुपण आयोगमा ६३ हजारभन्दा बढी उजुरी

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् ।
उनका अनुसार एउटै घटनाका उजुरीहरू धेरै छन् । उनले उजुरीभन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिए । सापकोटाले जिल्ला तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए । उनले अछाम र कपिलवस्तुमा ४ हजारभन्दा बढी उजुरी परेको र ३ हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र २ हजारभन्दा माथि उजुरी भएको एउटा जिल्ला रहेको बताए ।

उनले १ हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए । सामान्य प्रकृतिका उजुरीहरू बढिरहेको भन्दै उनले अहिले २ हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताए ।

उनले भने, ‘सार्वजनिक सुनुवाइ र मेलमिलाप सबैभन्दा ठुलो कुरा हो । मेलमिलाप हुन सक्ने खालका घटनाहरू मेलमिलापकै रूपमा जानुपर्छ । किनभने दुवै पक्ष अहिले मेलमिलाप भएर जिल्लामा, गाउँमा बसिसकेको छ, त्यसलाई हामीले त्योभन्दा बढी कसरी सुदृढ गरेर लैजानुपर्छ भन्ने छ ।’ उनले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरूको निरुपण हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया