१० अर्बको ‘इन्भेस्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पुँजीको ‘इन्भेस्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले देशैभरका उद्यमी व्यवसायीहरूले लगानी गर्न सक्ने गरी १० अर्ब पुँजीको इन्भेस्टमेन्ट कम्पनी खोल्ने भएको हो । नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेस्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् । उनका अनुसार उक्त कम्पनीले ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सक्नेछ । बुधबार नेपाल घरजग्गा तथा आवास विकास संघको १७औँ साधारणसभामा उनले पुँजी अभावका कारण धेरै आयोजना र उद्योगहरू स्थापना गर्न नसकिएको भन्दै अब नेपालमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा संकलन गरी देशभरका उद्यमी व्यवसायीहरूले लगानी गर्नसक्ने गरी १० अर्ब पुँजीको इन्भेस्टमेन्ट कम्पनी दर्ता गर्न लागिएको जानकारी दिए ।

ढकालले कम्पनीमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स अन्तर्गतका व्यवसायी तथा अन्य व्यवसायीहरूलाईसमेत समेटेर कम्पनी स्थापना गरिने बताए । उनले ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन, ठूलो बस्ती विकास, राजमार्ग, जलविद्युत्, पर्यटन लगायतका आयोजनाहरू सानो रकम अभावमा सम्पन्न हुन नसक्नेका आयोजनामा लगानी गर्नसक्ने गरी कम्पनी स्थापना गरिने बताए ।

साना र मझौला उद्यमी व्यवसायीहरूलाई प्राथमिकता दिने ढकालको भनाइ छ । उनले कुनै व्यवसायीले साना रकम दुई लाख लगानी गर्न चाहेमा त्यो रकम पनि स्वीकार गरेर पुँजी संकलन गरिने बताउँदै महासंघका सदस्य बाहेकका अन्य उद्योगी व्यवसायीले पनि लगानी गर्नसक्ने बताए ।

सर्वसाधारणबाट पैसा जम्मा गरेर आइपिओमा जानेभन्दा पनि ९० प्रतिशत रकम उद्योगी व्यवसायीहरूबाट संकलन गरिने बताउँदै ढकालले कम्पनी स्थापनापछि ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने अवस्था रहेको बताए । कम्पनीमा धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने उनले बताए । ढकालले लगानीका लागि निश्चित सीमा तोकिने र ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने बताए । उनले मुलुकमा केही गर्न सकिँदैन भन्ने मनोभावलाई अन्त्य गर्नका लागि पनि मुलुकभित्रको लगानी संकलन गरी ठूला आयोजनाहरूमा लगानी गर्न सकिने बताए ।

ढकालले भने, ‘नेपालमा सम्भावना छ भन्ने सन्देश दिने र साना–साना छरिएर रहेको पुँजीलाई एउटा ठाउँमा ल्याएर सम्भावित अवसरहरूलाई सदुपयोग गरौँ भन्ने हिसाबले कम्पनी दर्ता गर्न लागेका छौँ । सर्वसाधारणबाट पैसा उठाएर आइपिओमा जाने खालको कम्पनी होइन । १० प्रतिशत सर्वसाधारणलाई दिने बाँकी इक्विटीकै रूपमा पुँजी बनाएर १० अर्बको कम्पनी भयो भने कम्तिमा ३५ देखि ४० अर्बका आयोजनाहरू गर्न सकिन्छ । सरकार रुग्ण रहेका उद्योग प्रतिष्ठानहरू लगानी गर्न सकिन्छ । अन्य सम्भावित आयोजनाहरूलाई समेट्न सकियोस् । हामीले वैदेशिक लगानी मात्रै भनेका छौँ । हामीले स्वदेशी पुँजीमा पनि काम हुनसक्छ । सम्भावना छैन भन्ने खालको मनोभावलाई परिवर्तन गर्न सकिन्छ ।’

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकले घरजग्गा कारोबारमा लिएको कठोर नीतिको कारण घरजग्गा व्यवसायमा ठूलो समस्या ल्याएको दाबी गरे । उनले सरकारले बनाउनुपर्ने जग्गा हदबन्दी, विदेशीले नेपालको अपार्टमेन्ट खरिद गर्न पाउनुपर्ने, जग्गा भोकाधिकार, जग्गा कित्ताकाटका समस्या, अपार्टमेन्ट बिक्री वितरण रोक्का, करको दायरा वृद्धि लगायतका विषय समस्या समाधान गर्नुपर्ने रहेको बताए । लोहनीले सरकारले यस्ता समस्याहरूलाई क्रमशः कानुनी रूपमा समाधान गरे मात्रै व्यवसायीहरूको आत्मविश्वास बढ्ने र कारोबार चलायमान हुने बताए । उनले ल्यान्डपुलिङमार्फत ठूला घरजग्गासम्बन्धी ठूला आयोजनाहरू बन्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया