नेपालकाे कमजोर ब्याटिङले यूएईसँग हार्यो, एसिया कप खेल्ने सपना अधुरै

काठमाडौं । एसिसी मेन्स प्रिमियर कप टि– २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल आफ्नो खराब प्रदर्शनले संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले हारेको छ । यो जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ ।

यूएईले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । युएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।

साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ११९ रन मात्र बनाउन सक्यो ।

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो ।

त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करण केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई–दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले समान एक–एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । यस प्रतियोगितामा विजेता टोलीले भारत, पाकिस्तारलगायत टेष्ट राष्ट्रहरुसँग आगामी सन् २०२५ मा टी– २० एसिया कप खेल्न पाउने छ । तर नेपालको भने यो हारसँगै उक्त एसिया कप खेल्ने सपना अधुरो भएको छ ।

प्रतिक्रिया