विपक्षीको ताण्डव भन्दा सभामुखको जोडबल बढी

मधेस सदनमा कालो दिन

जनकपुरधाम । नेपालकै संसदीय इतिहासमा सभामुखले आफ्नो पावरको गलत प्रयोग गरी विश्वासको मत दिलाउने अराजनीतिक गतिविधिको अभ्यास मधेस प्रदेशबाट थालनी भएको छ ।

पटक पटक आफ्नो माग सम्वोधन हुनुपर्ने भन्दै आवाज उठाउदा पनि जोरवल नगर्नुस भन्दै आएका सभामुखले जनमतका सांसदलाई मर्यादापालक लगाएर बाहिर निकाली कांग्रेस र लोसपाले सदन बहिष्कार गरेको अवस्थामा सदन प्रतिपक्षीविहिन भएका बेला छापामार शैलीमा मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन लगाएको नेपालकै संसदीय इतिहासमा यो पहिलो घटना हो ।
आफ््ना माग राख्दै संसद अवरूद्ध गर्न खोजेका जनमत पार्टीलाई सामान्ति शैलीमा मर्यादापालक लगाएर बाहिर निकाली अर्का प्रतिपक्षी दलहरू कांग्रेस र लोसपाले सदन बहिष्कार गरेको अवस्था प्रतिपक्षीविहिन सभाबाट अराजनीतीक तरिकाले मंगलवार मुख्यमन्त्री सरोजकुमार यादवलाई सभामुख रामचन्द्र मण्डलले विश्वासको मत दिलाएका छन् ।

बहुमतको दम्भमा प्रतिपक्षी दललाई सदन बाहिर गराएर विश्वासको मत दिलाउनु मधेस प्रदेश सभाको यो घटनाले संसदीय अभ्यासको गलत नजिर बस्ने संसदीय मामिला जानकारहरुको टिप्पणी छ । संसदीय मामिलाका जानकार एवं संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सदन प्रतिपक्षीविहिन रहेको अवस्थामा बलमिच्याई गरी विश्वासको मत दिलाउनु भनेको अराजनीतिक र अलोकतान्त्रिक गतिविधि भएका बताएका छन् । यसले भोलीको दिनमा संसदीय अभ्यासको गलत नजीर बस्नेछ । नेपालको संसदीय इतिहासमा सम्भवतः यो पहिलो घटना रहेको उनको भनाई छ ।

उनले भने, ‘कुनै सांसदले अराजनीतिक वा उच्छश्रृंखल गतिविधि गरेमा त्यसलाई निलम्बन गर्न सक्ने वा बाध्यकारी अवस्था केही क्षणको लागि बाहिर निकाल्न सकिन्छ । तर, विशेष प्रयोजनका लागि प्रतिपक्षी दललाई सदन बाहिर निकालेर सदन सञ्चालन गर्नु भनेको अराजनीतिक गतिविधि र संसदीय अभ्यासको गलत नजिर हो ।’

यस्तै संसदीय मामिलाका जानकार पत्रकार लीलाराज खनालले सदन भित्र अराजक गतिविधि गरेमा कुनै सांसद विशेषलाई नभई प्रतिपक्षी दल रहेको हैसियतमा मर्यादापालक लगाई बाहिर निकाल्न लगाउनु र अर्को दलले बहिष्कार गरेको खण्डमा प्रतिपक्षीविहिन अवस्थामा विश्वासको मत दिलाउनु वा कानून पास गराउनु भनेको संसदीय मर्यादा विपरित अराजनीतिक गतिविधि रहेको बताए ।
उनले भने, ‘जुन तरिकाले सत्ता पक्षसँग बहुमत र उनको सभामुख रहेको अवस्थामा प्रतिपक्षी दललाई बाहिर निकालेर विश्वासको मत दिलाएको छ, भोलीको दिन अन्य दलले पनि यही प्रक्रियालाई दोहरयाए भने संसदीय अभ्यासको इतिहासमा गलत नजिर बस्दै जानेछ ।’

प्रतिपक्षी दल भनेको सदनको गहना हो र यो महत्वपुर्ण अंग मानिदै आएपनि प्रतिपक्षी बिनाको सदन अधुरो बनाई कार्यसम्पादन गर्नु अराजनीतिक गतिविधी रहेको उनले बताए ।

उनका अनुसार कुर्सी तोडफोड र सदन अवरूद्ध गर्नु यो पहिलो घटना होइन, संसदमा सांसद नांगो हुनेसम्मका घटना भएका छन् । तर कुनै घटनामा सांसद वा दललाई सदन बाहिर निकालिएन । सभामुखको सामान्ती गतिविधिमा मंगलबार मुख्यमन्त्री सरोकुमार यादवले चौथो पटक विश्वासको मत पाउन सफल भएको उनको भनाई छ ।

दुई/दुई पटक स्थगन पश्चात बसेको प्रदेशसभा बैठकमा कांग्रेस, जनमत र लोसपाले बैठक बहिष्कार गरेपछि ६१ प्रदेशसभा सदस्यहरु उपस्थित थिए । उपस्थित ६१ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि उनले सदनमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको छ ।

१ सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका ५४ प्रदेशसभा सदस्यहरुको मत आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका दलहरु जसपा, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र संघय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री यादवलाई मत दिए ।

प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ प्रदेशसभा सदस्यहरु रहेका छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १÷१ प्रदेशसभा सदस्य छन् । त्यस्तै कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सांसद छन् । यो ३ दलले भने बैठक बहिष्कार गरेका थिए ।

कुर्सी हानाहान र तोडफोड

मधेस प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले कुर्सी हानाहान सहित माइक र कुर्सी तोडफोड गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले विरोध गरिरहँदा सभामुख रामचन्द्र मण्डलले सभा सञ्चालन गर्न खोजेपछि प्रदेशसभा सदस्यहरु तेडफोडमा उतरिएका थिए । त्यस लगत्तै जनमतका प्रदेशसभा सदस्यहरुलाइ सदन बाहिर निकाल्न सभामुख मण्डलले आदेश दिएका थिए ।

सभामुखको तानाशाही शैली

प्रतिपक्षी दलमाथि तानाशाही प्रवृति सभामुख मण्डलले देखाउन खोज्दा कांग्रेस र लोसपाले सदन बहिष्कार गर्दै सभा बाहिर निस्केका थिए । सतारूढ दलले बहुमतको दम्भमा सदन सुचारूदेखि नै प्रतिकार गर्ने मनसायमा थिए ।
सतारूढ दलको मनसाय बुझेपछि सभामुखले सदन अवधिभरि प्रतिपक्षिमाथि तानाशाही व्यवहार गरेका थिए । तपाईं बस्नुस तपाईं बस्नुस उहाँलाई बाहिर निकाल्नुस जस्ता दम्भीय शैलीका अक्रामक शब्दहरू समेत प्रयोग गरेका थिए ।
त्यसपछि नेपाली कांग्रेस र लोसपाका प्रदेशसभा सदस्यहरु समेत बैठक बहिष्कार गरेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

सभामुख मण्डलले प्रदेशसभामा रहेको सीसीटिभी, टेबल, माइक, कुर्सी तोडफोडबाट ४ लाख बराबरको क्षति भएको भन्दै जनमतका प्रदेश सांसदहरुबाट असुल उपर गर्न निर्देशन दिएका छन् ।

राजविराजमा पूर्वमन्त्री महेश यादवमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै जमनत पार्टीका सांसदहरूले प्रदेशसभाभित्रै प्रदर्शन गरेका थिए । तर सदन अवरोध गरेको बेला मुख्यमन्त्री यादवले जबरजस्ती प्रस्ताव पेश गर्न लाग्दा विवाद भएको थियो ।

त्यसपछि प्रतिपक्षी तीनवटै दलले बैठक बहिस्कार गरेका थिए । यसै विषयलाई लिएर प्रदेशसभामा हानाहान पनि भएको थियो । सांसदहरुले टेबल र कुर्सीसमेत तोडफोड गर्न थालेपछि मुख्यमन्त्री यादव प्रस्ताव पेश गर्नबाट ब्याक भए । तोडफोडका क्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहको औंला काटिएको बताइएको छ । एक सांसदले भने, ‘वीरेन्द्रजीको एउटा औंलामा चोट लागेको छ ।’

एमालेसँग चर्काचर्की

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेस प्रदेशसभाको बैठक जनमत पार्टीले अवरुद्ध गर्न खोज्दा सत्तारुढ दल एमालेले डिफेन्स गर्दा चर्काचर्की भएको छ ।

जनमत प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक चन्दन सिंहले सप्तरीको राजविराजमा ८ माघमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको छानबिन समिति गठन गर्न माग गर्दा डिफेन्स गर्दै एमाले उपनेता दिपेन्द्र ठाकुरले व्यक्तिगत मुद्दालाई लिएर संसद अवरुद्ध गर्न पाइदैन भनेपछि चर्काचर्की भएको थियो ।

पटक पटक वेवास्ता गरेकाले सहमति अनुसार छानविन समित गठन र मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न दिन्नौ’ सिंहले यति भनेसंगै जनमतका सबै सांसद उठ्न लाग्दा नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उठेर जनमतका नेतामाथि भएको उक्त आक्रमण व्यक्तिगत घटना भएको र सदन अवरुद्ध गर्न नमिल्ने भन्दै प्रतिवाद गरे ।

संसदीय छानवीनको माग

विहिबार बसेको सर्वदलिय वैठकमा संसदमा मर्यादापालक लगाएर पुर्व मन्त्री महेश यादवलाई निकाल्न लगाउने घटनाको सम्वन्धमा सभामुखमाथि संसदिय छानवीनको माग उठेको छ । यस घटनाले मधेशको संसद मुलुकभरिनै बदनाम भएको र गलत संस्कृति बसेको भन्दै सांसदहरुले सभामुखमाथि छानवीनको माग गरेका थिए ।

यता सभामुखले आवेगमा आएर सो निर्णय गरेको र आवेगपुर्ण स्थितीमा गरिएकोले यस घटनालाई अगाडी नबढाउन सभामुखले आग्रह गरेको सांसद महेश यादवले जानकार दिए । बैठकको विषयमा जानकारि दिदै सांसद यादवले सभामुख आफु के गरौ नगरौ स्थिीतीमा रहेकोले संसदीय छानवीन नबनाई यसमा छलफल गरि टुंगयाउन आग्रह गरेको बताए ।

विहिबार बसेको सर्वदलिय बैठकमा खासै छलफल नभएको र पुनः दुईदिनपछि अर्को बैठक बसी छलफल अगाडी बढाईने उनले बताए । यता जनमत पार्टीले विपक्षीनै उपस्थिती नरहेको समयमा संसदीय कार्यवाही अगाडी बढाइएको विषयमा आपती प्रकट गरेको छ । सरकारले विवाद सुल्झाउनु भन्दा विवाद बढाउने काम गरेकोले यसप्रति सजग हुन पार्टीले आग्रह गरेको नेता महेश यादवले बताएका छन । त्यसैगरि जनमतले उठान गरिरहेको मुद्दामाथि छानवीन समिति गठन नभएसम्म संसदमा अवरोध कायम रहने जनाइएको छ ।

प्रतिक्रिया