इलाम–२ उपनिर्वाचन : चुनावी प्रचारमा ठूला नेताहरुको दौडधुप

इलाम । इलाम–२ मा उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अहिले राजनीतिक दलका शीर्षदेखि केन्द्रीय तहका नेताहरु निर्वाचन क्षेत्रमा गएर स्थानीयबासीहरुसँग अन्तरक्रियामा जुटिरहेका छन् ।

चुनाव प्रचारका लागि पूर्वप्रधानमन्त्रीदेखि वहावाला मन्त्रीहरुको समेत इलाम दौडधुप बढेको छ । आफ्ना उम्मेदवारलाई जिताउन प्रचारप्रसारदेखि चुनावी सभालाई सम्बोधन गर्न नेताहरु निर्वाचन क्षेत्रमा खटिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवारले निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

उनीहरुका शीर्ष नेताहरु नै निर्वाचन क्षेत्रमा खटिएर मतदाताहरुलाई प्रभावित पार्न प्रचारप्रसारमा व्यक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधबार पार्टीका उम्मेद्वार सुहाङ नेम्बाङलाई मत इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारे बजार पुगे । त्यहाँ एमाले र माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुहाङका लागि भोट मागे ।

उनले इलामको विकास गर्नका लागि सुहाङलाई जिताएर पठाउन मतदाताहरुलाई अपिल गरे । ‘अहिलेसम्मको सबै विकासको कामको नेतृत्व एमालेले गरेको छ, अब पनि यहाँको विकास गर्न चाहनुहुन्छ भने एमालेलाई भोट दिनुहोस्, सुहाङलाई भोट दिनुहोस्, सूर्यलाई भोट दिनुहोस्’, अध्यक्ष ओलीले भने, ‘सुहाङले हारे भने इलामले हार्नेछ । त्यसैले इलामले जित्नका लागि पनि सुहाङले जित्नुपर्छ ।’

ओलीसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राईलगायत नेताहरु मंगलबारे पुगेका थिए । एमालेको चुनावी अभियान पार्टी स्थायी कमिटी सदस्य एवं इलाम इन्चार्ज शिवमाय तुम्बाहाम्फेको कमाण्डमा चलिरहेको छ । एमाले उम्मेदवार सुहाङलाई जिताउन माओवादी केन्द्र र नेकपाका नेताहरु समेत चुनावी अभियान खटिएका छन् ।

उता आफ्नो उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसका शीर्ष नेताहरुको दौडधुप राम्रै छ । कांग्रसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । चुनावी प्रचारका लागि गत सोमबार पार्टीका नेता शेखर कोइराला इलाम सदरमुकाममा कार्यकर्ता भेटघाटमा उपस्थित भए । उनले यस पटक कांग्रेलाई हार्ने छुट नभएको बताउँदै एकजुट भएर जित निकाल्न निर्देशन दिए ।

कोइराला मंगलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग आशिर्वाद ग्रहण गरी काठमाडौं फर्किए । चुनावी प्रचारकै लागि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा शुक्रबारदेखि इलाम आउँदैछन् महामन्त्रीद्वयले शनिबार इलाम सदरमुकाममा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । महामन्त्री थापा यसअघि पनि फाकफोकथुम गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गरी फर्किएका थिए ।

चुनावी प्रचारकै लागि पूर्वमहामन्त्री सशांक कोइराला बिहीबार इलाम आउनेछन् भने नेता कोइराला १० गते इलाम आउने कार्यक्रम तया भएको कांग्रेसले जनाएको छ । कांग्रको चुनावी अभियानमा अहिले सहमहामन्त्री भिष्मराज आङ्देम्बे, केन्द्रिय सदस्य डिला संग्रौलासहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटालगायत जिल्लाका सभापतिहरु फिल्डमा खटिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूलाई जिताउन पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित अन्य मन्त्रीहरु चुनावी अभियानमा छन् । उम्मेदवार घोषणा गरी काठमाडौं फर्किएका उपप्रधान तथा गृहमन्त्री लामिछाने चुनावी प्रचारका लागि वैशाख ७, ८, ,११ र १२ गते इलाममा रहनेछन् ।
त्यस्तै पार्टी सहमहामन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बुधबारदेखि नै चुनावी घरदैलो र कोणसभामा सहभागी भएकी छन् ।

रास्वपा संसदीय दलका उपनेता समेत रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाममा घरदैलो, कोणसभा र चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले वैशाख ११ र १२ गते हुने सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको उम्मेदवार लिम्बूले बताए ।

रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको कमाण्डमा चुनावी अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा केन्द्रीय सदस्य एवम् सहप्रवक्ता रमेश प्रसाईं, प्रतिनिधसभा सदस्य डा. तोसीमा कार्की, निशा डाँगीलगायतको टोलि घरदैलो र कोणसभामा सहभागी भइरहेका छन् । उता पहिचानवादीको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले समेत चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

विभिन्न ४१ वटा घटक दर र संघसंसथाको समर्थनमा उम्मेदवार बनेका थेगिमले मतादातालाई आफ्नो पक्षमा आकर्षित गर्न चर्चित अभियान्ताहरुको सहयोग लिइरहेका छन् । उनको अभियानमा धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साङपाङ), अधिवक्ता स्वागत नेपाल, लेखक युग पाठकलगायतले साथ दिइरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बाक्लो रुपमा इलाम बसिरहेका छन् ।

चुनावी कमाण्डर नै भएकाले उनी आफ्नो दलका उम्मेदवार जितबहादुर राईको जित्ने दावी गर्दै आएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको चुनावी अभियानमा पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) इलाम आइपुगेका छन् । इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेका उम्मेदवार सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल परिवार दलको समर्थन छ । सो क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । मुख्यगरी एमालेका सुहाङ नेम्वाङसँगै कांग्रेसका खड्का, रास्वपाका लिम्बू र पहिचानवादीका साझा स्वतन्त्र थेगिमबीच चौपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया