कोसीमा बढ्दो धार्मिक हिंसा

विराटनगर । पछिल्लो समय नेपालमा धर्मका नाममा हिंसा भड्किने क्रममा वृद्धि भएको छ । विशेष गरी हिन्दु र मुस्लिम समुदायबीचको विवादले हिंसाको स्वरूप लिँदा पछिल्लो समय कोसी प्रदेश अशान्त बन्दै गएको छ ।
बुधबार रामनवमीको अवसरमा हिन्दुवादी संघसंस्थाले विराटनगरमा निकालेको र्यालीका क्रममा झडप भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्याली निकाल्ने तयारी गरेपछि मुस्लिम समुदायको समूहले अवरोध गर्न खोजेपछि दुवै समूहबीच झडपको अवस्था सिर्जना भएको हो ।
यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्याली नल्याएको यस वर्ष किन ल्याउनुपर्यो भन्दै मुस्लिम समुदायले र्याली रोक्न खोजेपछि झडप भएको हो । स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।

विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट बलराम यादवको नेतृत्वमा उक्त र्याली निकालिएको थियो । विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेकामा अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको हो । दुवै पक्ष लाठी, तरबारलगायत घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएका थिए । स्थिति भड्किन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार दुई समूहबीच झडपको अवस्था बनेपछि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ । झडपमा परी ९ प्रहरीसहित दुवै पक्षका घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबीच, स्थानीय प्रशासनले वर्षौंदेखिको धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिँदै सबैलाई संयमता अपनाउन र परिस्थिति भड्किन नदिन आग्रह गरेको छ ।

यसअघि पनि कोसी प्रदेशकै सुनसरीमा भगवान रामकै विषयले उग्र रूप लिँदा स्थानीय प्रशासनले कफ्र्यु नै लगाएको थियो । सुनसरीको हरिनगरमा भएको दुई समूहबीचको झडपपछि प्रशासनले जिल्लाका ५ स्थानीय तहमा कफ्र्यु आदेश जारी गरेको थियो । बुधबार पनि भगवान रामकै विषयमा हिन्दु–मुस्लिम द्वन्द्व भड्किएको हो ।

२३ चैतमा हिन्दु–मुस्लिम समुदायबीच बढेको विवादले झडपको अवस्था आएपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो समयमा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका थिए । हरिनगर गाउँपालिका–१ भुटाहामा एसइई दिन गएकी आफ्नी बहिनीलाई लिन जाँदा बाटो छेकेर एक युवामाथि सडकमा घिसार्दै निर्घात कुटपिट भएपछि सो विवादले हिंसाको रूप लिएको थियो ।

गत ८ माघमा भारतको अयोध्यामा भगवान रामको मन्दिर उद्घाटन तथा प्राणप्रतिष्ठाका क्रममा त्यहाँ लगाइएको तुल, झन्डा मुस्लिम समुदायका व्यक्तिले च्यातिदिएपछि तनाव बढेको थियो । त्यसबारेमा हिन्दु समुदायले अस्थायी प्रहरी चौकीमा निवेदन दिएपछि भएको छलफलमा सद्भाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो । तर, उक्त सहमतिपछि पनि २ समुदायबीचको विवाद साम्य हुनुको सट्टा झन् अराजकता बढेपछि कफ्र्युको अवस्थासम्म पुगेको थियो ।

प्रतिक्रिया