निमित्तका भरमा चलेका ३० गाउँपालिकाले पाए हाकिम

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको अभावमा निमित्तका भरमा चलिरहेका ३० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सरकारले मंगलबार ८२ जना शाखा अधिकृतको पदस्थापन गर्दै ३० जनालाई प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो । नवनियुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालयसहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

यसअघि प्रशासकीय अधिकृत रिक्त रहेका गाउँपालिकाहरू अर्घाखाँचीको मालारानी, बागलुङको बडिगार्ड, अछामको तुर्माखाँद, काभ्रेपलाञ्चोकको भुम्लु, लमजुङको मस्र्याङ्दी, पर्वतको महाशिला, मनाङको चामे, काभ्रेको रोशी, म्याग्दीको धवलागिरि, डोटीको आदर्शमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।

यस्तै, जाजरकोटको शिवालय, काभ्रेको खानीखोला, सल्यानको कुमाख, डोल्पाको काइके, जुम्लाको कनकासुन्दरी, रोल्पाको माडी, सिन्धुपाल्चोकको लिसंखुपाखर, ताप्लेजुङको मेरिङदेन, डोटीको पूर्वीचौकी, पर्वतको जलजला, सिन्धुपाल्चोकको हेलम्बु, डोटीको केआइसिंह, बागलुङको निसिखोला, सर्लाहीको पर्सा गाउँपालिकाले पनि हाकिम पाएका छन् ।

यसैगरी, ताप्लेजुङको सिदिङबा, सप्तरीको तिलाठी कोइलाडी, सर्लाहीको रामनगर, मकवानपुरको बाग्मती, जाजरकोटको जुनीचाँदे, सप्तरीको विष्णुपुर गाउँपालिकामा पनि प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ८२ जना पदस्थापन हुँदा सबैभन्दा बढी गृह मन्त्रालय वा त्यसअन्तर्गतका निकायमा खटाइएका छन् । गृहमा ४० जना शाखा अधिकृतको पदस्थापन भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ११ जनाको पदस्थापन हुँदा १ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ ।

प्रतिक्रिया