सार्वजनिक चासोका विषयको सूचना पत्रकारहरुसमक्ष पुग्दैनन्

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा कार्यक्षेत्र बनाएर कार्यरत युवा पत्रकारहरुले सार्वजनिक चासोको सूचनामा समान वितरण नभएको बताएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गरेको अन्तरक्रियामा युवा पत्रकारले सूचनामा समान वितरण हुन नसकेको उल्लेख गरेका हुन् ।

बनेपामा आायोजित कार्यक्रममा उनीहरुले सूचनाको पँहुच, त्यसको उपभोग, विस्तार र त्यसको महत्वको बारेमा समानता हुन नसकेको बताए । बुधबार भएको उक्त अन्तरक्रियामा राष्ट्रिय, स्थानीय सञ्चारमाध्यमसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

उनीहरुले सार्वजनिक महत्वको सूचना लुकाउने, आफ्नो फाइदाको सूचनालाई प्रचार गर्न खोज्ने, सूचना सहज नपाउने, कानुनी रुपमै माग्नुपर्ने बाध्यताको सृजना गराउने, काम भइरहेको उल्लेख गरे । ठेक्कापट्टाको सूचना सहयोग सामग्री हस्तान्तरणको सूचना दिन नै अप्ठारो मान्ने गरेको उनीहरुको भनाई छ ।

सूचना अधिकारीको भूमिका पनि निकै कमजोर देखिएको र सूचना लुकाउने समस्या धेरै भएको उनीहरुको गुनासो छ । जसको कारणले आम मानिसले सहजरुपमा सूचना पाउन नसकेको उनीहरुले उल्लेख गरे । सामाजिक सञ्जालको पहुँचमा रहने र नियमित सरकारी कार्यालयमा जानेले सूचना पाउने आम सर्वसाधारणले सूचना नपाउने परिपाटी रहेकाले त्यसमा सरकारी निकायले ध्यान पुर्याउन आवश्यक रहेको पाइएको छ ।

सौर्य दैनिकमा कार्यरत सुकदेव थपलियाले सूचना मानिसको शरिरको रक्तनली जस्तै भएको उल्लेख गरे । प्रचार गर्नुपरेमा समाचार बनेर आउने तर आवश्यक सूचना लुकाउने प्रचलन रहेकाले त्यसले राम्रो नगर्ने उनले सुझाव दिए । सूचना हक भए पनि सकारात्मक तथा प्रचारात्मक सूचनाको बाहुल्यता रहेको छ । मणीराम दाहालले सूचना पाउन निकै सकस रहेको बताए ।

सार्वजनिक महत्वका सूचना पाउन नसक्ने र सामाजिक सञ्जाल पनि नियमितरुपमा अपडेट समेत नहुने गरेको उनले बताए । बेथानचोक खबरका सुरज श्रेष्ठले सूचना सदैव व्यक्ति केन्द्रित भएकाले समस्या बढेको बताए । उनले सामूहिक र बराबर रुपमा पाउनुपर्ने सूचना एक–एक व्यक्तिले पाउने अवस्था सृजना गराएको भनाई राखे ।

सूचनामा गलत तथ्यांक र मिथ्या हल्लाको प्रयोग भएको तर पत्रकार स्वयंले पनि त्यसबारे अध्ययन र पुनः पुष्टि गर्न नसकिरहेको भन्दै उनले जसको कारणले गलत सूचनाको सिकारमा आम नागरिक परिरहेको बताए ।
सन्तोष चौलागाईले सूचनाको हक प्रयोग गर्ने बानी हामीमा नभएर सर्वसाधारणले पनि सही र तथ्यपरक सूचना पाउन नसक्नु समस्याको विषय रहेको बताए ।

पूजन धितालले सूचना मरिरहेको बताउँदै काभ्रेबाट नक्कली नागरिकता बनेको पूर्ण सूचना अहिलेसम्म नआएको उल्लेख गरे । सकारात्मक सूचना आफै बनाएर पठाउने तर खोजीका विषयका बारेमा भने सूचना लुकाउन खोज्ने परिपाटी विकास भएको सहभागीले उल्लेख गरेका थिए ।

सूचनामा सबै वर्ग र समुदायको समान पहुँच आवश्यक रहनुपर्ने उनीहरुको सुझाव छ । कम्युनिटी फन्ट लाइन एक्टिभिष्ट केशवराज पौडेलको सहजीकरणमा भएको अन्तरक्रियामा सूचनाको आवश्यकताको बारेमासमेत छलफल गरिएको थियो ।

प्रतिक्रिया