बसको ठक्करबाट निधन भएका प्रहरी जवानको अन्त्येष्टि

पर्सा । ड्युटीमा खटिएका बेला बसको ठक्करबाट निधन भएका ट्राफिक प्रहरी जवान मुनटुन यादवको उनका पैतृक घर पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगन्ज चोकमा डिउटीमा रहेका बेला उनलाई बसले ठक्कर दिएको थियो ।

मृतक प्रहरी जवानलाई उनका चार वर्षीय छोरा सुसान्त यादवले दागबत्ती दिएका थिए । मृतक प्रहरी जवान यादवको अन्तिम दाहसंस्कार गाउँ नजिक रहेको ओरिया खोलाको छठियाघाटमा गरिएको थियो ।

यादवलाई प्रहरीले शोक सलामी अर्पण गरेका थिए । यादवको शोक सालामी अर्पण नेपाल प्रहरी राजमार्ग सुरक्षा राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीको कमान्डमा भएको थियो ।

काठमाडौंबाट काँकडभिट्टा गइरहेको बागमती प्रदेश ०१–०० ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया