मधेस ब्युरो । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्देशनको अवज्ञा हुने भएको छ । मधेस प्रदेशका अधिकांश जिल्ला शाखाहरुले महासंघको निर्देशनको अवज्ञा गर्ने भएको हो । नेपाल पत्रकार महासंघको अधिकांश जिल्लामा सदस्यता विवाद रहेको छ ।
जिल्ला शाखाको सदस्यता निश्चित नभएको अवस्थामा महासंघले जिल्ला अधिवेशन गर्न समय निर्धारण गरेपछि मधेस प्रदेशका अधिकांश जिल्ला शाखाले असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, बारा अध्यक्ष रेशम तिवारी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्साका अध्यक्ष अनुप तिवारी, सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोजकुमार बनैताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सदस्यता विवाद नसुल्झाएको भन्दै जिल्ला अधिवेशन नगर्ने जानकारी गराएको हो ।
लुम्बिनी घोषणापत्र अनुसार सदस्यता सुद्धिकरण अभियानअन्तर्गत जिल्ला शाखाहरुले पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्यताको नामावली सिफारिस गरेको तर महासंघले सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा अधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यता विवाद कायम छ ।
सदस्यताको विवाद नटुंगिएसम्म जिल्ला अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । संयुक्त विज्ञप्तिमा, सदस्यताको टुंगो नलागेसम्म मुलकभरका जिल्ला शाखासहित प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुलाई समेत अधिवेशन नगर्न नगराउन आग्रह गरिएको छ ।
आइतबार सर्लाहीको हरिवनमा मधेश प्रदेशका ६ जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले महासंघको निर्णय र निर्देशनविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया