बारा । केवल र इन्टरनेटका अव्यवस्थित तारले बाराका मुख्य बजारमा दुर्घटनाका साथै आगलागीको जोखिम बढेको छ । तारका कारण सडक किनारबाट हिँड्ने पैदल यात्री र साना सवारी साधनले सास्ती खेप्नुपरेको छ । राजमार्ग छेउ लत्रिएका इन्टरनेटका तार दुर्घटनाका कारक बन्ने गरेको छ । जिल्लाको सदरमुकाम कलैया, जितपुर सिमरा, नितनपुर, बरियारपुर लगायतका बजारहरूमा इन्टरनेट तथा केबल टिभी सञ्चालकले बिजुलीका पोलमा तार झुन्ड्याउने गरेका छन् ।
बाराका सडक क्षेत्रमा अव्यवस्थित रूपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केबलका तार अव्यवस्थित रूपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ । जसका कारण जोखिम बढेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा प्रमुख भीमकिरण बोगटीले बताए ।
कतिपय स्थानमा चुँडिएका तार झुन्डिएर बसेका छन् भने कतिपय स्थानमा तारका गुजुल्टो नै अव्यवस्थित रूपमा रहने गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा यस्ता समस्या रहेका छन् । नेपालमा धेरै क्षेत्रमा देखिएको यो समस्या बारामा पनि प्रसस्तै छ । बिजुलीको पोलमा इन्टरनेट नेटवर्कले राखेको तार चुँडिएर विद्युत्को नांगो तारमा टाँसिएर आगो लाग्ने गरेको स्थानीय बताउँछन् ।
इन्टरनेट कम्पनीले पोलमा बाँधेको तार भुइँमा झर्दासमेत वास्ता नगरेको स्थानीयको गुनासो छ । इन्टरनेट, केबल र टेलिकमको पोलबाट लत्रिएका तारले बजार क्षेत्र कुरूप देखिनुका साथै पैदल यात्रु र मोटरसाइकल चालक जोखिममा रहेको छ । पोलमा टाँगिएका तार व्यवस्थित नहुँदा तार हल्लिएर नांगो तारमा छुने र सर्ट भई आगलागीका घटना हुन थालेकाले आफूहरूले पटकपटक केबल तार र इन्टरनेट प्रदायक कम्पनीसँग तारलाई व्यवस्थित गर्ने आग्रह गर्ने गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैयाका प्रमुख क्रषिकुमार वर्णवालले बताए ।
अव्यवस्थित ताराको कारण बाराको बजारको सौन्दर्यकारणमा असर पर्नुको साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । बारा जिल्ला औद्योगिक क्षेत्र भएको कारण यहाँ दैनिक उद्योगमा ठुल्ठूला गाडीहरू समान ओसारपोसार गर्नका लागि भित्रिने गर्छ । तर, अव्यवस्थित ताराको कारण ठूला गाडीलाई उद्योगभित्र प्रवेश गर्न समस्या हुने गरेको छ । कैयौँ स्थानमा तारमा गाडीले छुने गरेकोले दुर्घटनाको जोखिम बढेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीले राखेको प्रतिबक्स ६ सयका दरले र प्रतिकिलोमिटर सात हजारका दरले विद्युत् प्राधिकरणले बिजुलीका पोलको भाडा वापतको रकम लिने गरेको छ । तार टाँगे बापत इन्टरनेट सेवाप्रदायक कम्पनीले विद्युत् प्राधिकरणलाई तोकिएको भाडा तिर्ने नगरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।
बारा
प्रतिक्रिया