डिजेमाथि प्रतिबन्ध लगाउँदै स्थानीय सरकार

मधेस ब्युरो । अत्यधिक ध्वनि र अश्लील गीत तथा नृत्यले बदनाम भएको डिजेमाथि स्थानीय सरकारले प्रतिबन्ध लगाउन सुरु गरेको छ । प्रदेश सरकारको निर्देशन बमोजिम स्थानीय सरकारले ठूलो आवाजमा बजाइने डिजे सिस्टममाथि प्रतिबन्ध लगाउन सुरु गरेको हो ।
रौतहटको कटहरिया नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रभित्र ठूलो आवाजमा बजाइने डिजे साउन्ड सिस्टलाई निषेध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सार्वजनिक सूचनामार्फत नगरपालिकाभित्र डिजे साउन्ड सिस्टमलाई निषेध गरेका हुन् ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले चैत २० गते प्रदेश सुरक्षा समन्वय समितिको बैठकको निर्णयलाई चैत २१ मा नगरपालिकामा पठाएको र नगरपालिकाले चैत २२ देखि नै कार्यान्वयनमा ल्याएको अधिकृत प्रधानले जानकारी दिए ।

प्रदेश सरकारले विभिन्न स्थानमा, विभिन्न कार्यक्रममा ठूला आवाजमा बजाइने डिजे साउन्ड सिस्टमबाट ध्वनि प्रदुषण भई स्वास्थ्यमा प्रतिकूल असर परिरहेकोले सो कार्य रोक्न अनुरोध गरेकोले सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर पालिका क्षेत्रभित्र डिजेमाथि रोक लगाइएको प्रधानको भनाइ छ ।

धेरै क्षेत्रबाट डिजेले पुर्याइरहेकाले त्यसको असरलाई रोक्न डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने माग भइरहेको अवस्थामा नगरपालिकाले सकारात्मक कामको सुरुआत गरेको स्थानीय अनिलकुमार निधिले प्रतिक्रिया दिएका छन् । अत्यधिक साउन्डमा अश्लील गीत बजाएर अश्लील नृत्य गर्दा मुख्य गरी विद्यालय, बजार क्षेत्र, गाउँघर र अस्पताल प्रभावित हुने गरेका थिए । यसै गरी बालबालिका, बिराम र ज्येष्ठ नागरिकलाई डिजेको ठूलो आवाजले निकै असर पारिरहेको थियो ।
रौतहटको कटहरिया नगरपालिकाले ठूला आवाजमा बजाइने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएपछि अन्य पालिका तथा अन्य जिल्लामा पनि रोक लगाइने बुझिएको छ । कटहरिया नगरपालिकाले डिजेमाथि प्रतिबन्ध लगाएपछि सबैतिर प्रशंसा हुन थालेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया