तलब नपाएका कर्मचारीले बुझाए सिडिओलाई चाबी

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले महिनौँदेखि तलब नपाएको भन्दै कामकाज थप गरी प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । गत असार महिनादेखि तलब सुविधा नपाएको भन्दै नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा नगरपालिकाका कर्मचारीहरूले सामुहिक रूपमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

भ्रष्टाचारको अभियोग लागेपछि निर्वाचित नगरप्रमुख गोपाल यादव निलम्बित भएसँगै नगरपालिकाको काम अस्तव्यस्त बनेको छ । कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी नगरप्रमुख अम्बेया खातुनको कारण नगरपालिकाका कर्मचारी तलब खानबाट वञ्चित भएको एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल रौतहटका सचिव रमेश यादवले आरोप लगाएका छन् ।
गएको असार महिनादेखि स्थायी कर्मचारी र २०७९ भदौ महिनादेखि अस्थायी तथा करार सेवाका कर्मचारीले तलबभत्ता लगायतका सुविधा पाएका छैनन् । लामो समय तलब भत्ता नपाएका कारण आफूहरूले बाध्य भएर कार्यालयमा ताला लगाएर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएको यादवले बताए ।

फागुन ३ गते नगरसभा सम्पन्न भए पनि कार्यवाहक नगरप्रमुख खातुनले बजेट खर्च गर्न अनुमति नदिएका कारण कर्मचारी सेवासुविधाबाट वञ्चित भएका हुन् । कैयौँ प्रयास गर्दा पनि आफूहरूले तलब नपाउँदा मारमा परेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया