पर्यटनका लागि मालारानी

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान सञ्चालन भएको छ । अभियानको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन विभिन्न प्रचारात्मक कार्यक्रममार्फत अगाडि बढेको महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।

अभियानको दोस्रो चरणअनुसार स्थानीय तहले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तव्य मध्ये सोमबार मालारानी गाउँपालिकाका मुख्य तीन गन्तब्य नरसिंहस्थान मन्दिर, मालारानी मन्दिर, तिलकुवा झरनामा पुगी स्थलगत रिपोटिङ गरेको अभियानका एक सदस्यले बताए ।

पर्यटकीय गन्तव्य नरसिंहस्थान मन्दिर :

भगवान विष्णुले नरसिंह अवतार लिएर हिरण्यकश्यपको बध गरेको स्थल नरसिंह स्थान मालारानी गाउँपालिका–७ मा पर्दछ । विष्णुपुराण अनुसार सत्ययुगमा विष्णु भगवान्ले यसरी नरसिंहस्थानको रूपमा चौथो अवतार लिई हिरण्यकश्यपुको बध गरेको मान्यता रहेको छ ।

पौराणिक कथाअनुसार नरसिंहस्थानमा हिरण्यकश्यपु राजाकोे दरबारको रूपमा चारढोके प्राकृतिक गुफा नरसिंह उत्पत्ती हुँदा फुटेको फटिकको खम्बा नरसिंह पिता फटिकदेव प्रकट हुँदा बखतको भयानक रूपमा ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिंहको विशाल शिला छ । नरसिंहले हिरण्यकश्यपुलाई काखमा राखी मारेकाले अहिले पनि हिरण्यकश्यपु नरसिंह शिलाको काखमै रहेको प्राकृतिक दृश्य प्रष्टसँग देखिन्छ ।

नरसिंहस्थान मन्दिरमा एकपटक अवलोकन गर्न सबैलाई आग्रह गर्दे मालारानी–७ का वडा अध्यक्ष खड्कप्रसाद भुसालले नरसिंहस्थान सबैको आकर्षकको केन्द्रको रूपमा विकास भएको बताए । अध्यक्ष भुसालले पर्यटकीय धार्मिक हिसाबले निकै नै महत्वपूर्ण र मनोकांक्षासमेत पूरा हुने धार्मिक विश्वास रहेको उक्त मन्दिरलाई विगत सात वर्षदेखि व्यवस्थित गरी आन्तरिक पर्यटकसमेत आउन थालेका बताए ।

मन्दिर पर्यटन पूर्वाधार समितिका उपाध्यक्ष तथा स्थानीय क्याप्टेन इन्द्रबहादुर खड्काले मालारानी मन्दिरको दिनप्रतिदिन महत्व र गरिमा बढ्दै गएकोले सबैले अवलोकन गर्नुपर्ने बताए ।

मुख्य पर्यटकीय गन्तव्य मालारानी मन्दिर:

मालारानी मन्दिर गाउँपालिका–३ मा पर्दछ । बाइसे चौबिसे राज्यको पालामा माला नाम गरेकी रानी, यो स्थानमा बसेकी कारण उनैको नामबाट मालारानी रहेको किंवदन्तीमा उल्लेख गरिएकोे स्थानीयले बताए । मालारानी मन्दिरभित्र, कालीका देवी, सिद्ध गणेश, हनुमान, हवनकुण्ड, शिवलिंग लगायतका मूर्तिहरू छन् । यहाँ प्रत्येक आइतबार र मंगलबार पूजा गर्ने प्रचलन रहेको मन्दिर समितिले जनाएको छ । मन्दिरबाट उत्तरी दिशामा विभिन्न रमणीय हिमशृंखलाहरू पनि देख्न पाइन्छ ।

रातो गुराँस फुलेको मनोरम दृश्यको बीचमा रहेको मालारानी मन्दिरमा दैनिकजसो पर्यटकहरू आउन थालेको र थप विकास साथै बिस्तार गर्न पालिका लागिरहेका मालारानी–३ का अध्यक्ष दण्डपाणी पोख्रेलले बताए ।

लामो समयको प्रयासपछि मालारानीको महत्व बढेको र थप आकर्षण र विकासका लागि सबै सरोकारवाला लाग्नुपर्ने स्थानीय रोमाहर्ष खनालको माग छ ।

मुख्य पर्यटकीय मुख्य तिलकुवा झरना

प्रकृतिको अनुपम उपहारको रूपमा रहेको मालारानी–२ को झरना साच्चै नै महनमोहक र पर्यटकलाई लोभ्याउने खालको छ । जहाँ दैनिक आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

मालारानी गाउँपालिका–२ र ३ बीचको खोचमा लिकुवा झरना रहेको छ । झरनामा पुग्दा सबै मानिसको प्रति प्रफुल्लित हुन्छ । प्रकृतिको अनुपम सुन्दर पर्यटकीय स्थान झरनामा नजिक नजिक दुई ठाउँमा बाँडिएर जोडी जस्तै झरना झरेको दृश्यावलोकन सबैको मन लोभ्याउने खालको छ ।

छाँगोबाट खसेका पानीका कणले पानीको कुहिरो लागेजस्तो देखिन्छ ।

तिलकुवा झरना जिल्लाको मात्र नभई देशकै महत्वपूर्ण पर्यटकीय गन्तब्यको रूपमा विकास भएको छ । झरना हेर्न र अवलोकन गर्न विदेशबाट समेत पर्यटक आउने गरेको वडा–२ का अध्यक्ष योगेन्द्रनाथ भुसालले बताए ।

लामो प्रयासपछि तिलकुवा झरनाको आकर्षण बढ्दै गएको पूर्वजनप्रतिनिधि टामलाल पाण्डेले बताए । पर्यटन विकासका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम अगाडि बढाएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए । गाउँपालिकाले विभिन्न कार्यक्रमसहित पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको पालिकाका उपाध्यक्ष दीपा पोखरेलले बताइन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया